Thursday, December 4News That Matters

रावा बेसी : कल्लेरी पहिरो रुभुङवासीको वर्षेनी समस्या, समाधान खोज्दै गाउँपालिका

पहिरोमा कठिन यात्रा गर्दै विद्यार्थी, तस्विर : स्थानीय भुवन राई 

खोटाङ, भदौ २९ । रावा बेसी गाउँपालिका–२ खार्पास्थित कल्लेरी खोलामा पहिरो जादा आवतजावतमा समस्या भएको छ । पहिरोले खार्पा गा.वि.सको साविक १ नम्बर वडा रुभुङ गाउँका नागरिकलाई विद्यालय र वडा कार्यालयसम्म आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

लामो समयदेखि वर्षेनी बगिरहने कल्लेरी खोलाको पहिरोले बर्खाको समयमा रुभुङवासीलाई दुःख दिदैआएको छ । अघिल्ला वर्षहरु भन्दा यो वर्ष कल्लेरीमा ठुलो बाढी आउनुका साथै पहिरोले पनि क्षेत्र बढाएपछि रुभुङवासीलाई आवतजावतमा कठिन भएको स्थानीय उदिम चाम्लिङले बताउनुभयो । ‘खार्पाको वडा कार्यालय र शारदा माध्यमिक विद्यालय नजिकै पर्छ जहाँ पुग्न रुभुङवासीले कल्लेरी खोलाको पहिरो पार गर्नुपर्छ ।’ चाम्लिङले भन्नुभयो ।

करीब १०० मिटर क्षेत्रमा गएको पहिरो पानी परेको समयमा प्रायः बगिरहन्छ । जसले गर्दा विशेषगरी विद्यार्थीलाई विद्यालय आउन र जान समस्या भएको छ । विद्यार्थीहरु जोखिम मोल्दै जुत्ता, चप्पल हातमा बोकेर मनभरीको त्रासकासाथ पहिरो पार गर्न बाध्य छन् । खोलामा पुल वा वैकल्पीक बाटोको व्यवस्था नहुँदा जुनसुकै समयमा पनि घटना हुनसक्ने प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

पहिरोको कारण उत्पन्न उक्त समस्याको दिर्घकालिन समाधानकालागि गाउँपालिका लाग्ने पालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले बताउनुभयो । तत्कालकालागि आवतजावतमा सहजता ल्याउन बजेटको व्यवस्था गरेर काम अघि बढाउन भनिसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तस्विर : स्थानीय राजुराम राई