Thursday, April 16News That Matters

देगेलिङ गुम्बा पुर्ननिर्माणका लागि हङकङमा चार लाख आर्थीक संकलन

भुकम्पले भत्काएको देगेलिङ गुम्बा

ओखलढुंगा, असोज २ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ चुप्लुभञ्ज्याङस्थित देगेलिङ गुम्बा पुनर्निर्माणकालागि हङकङमा ४ लाख आर्थीक संकलन भएको छ । युवा समाजसेवी छिरिङ शेर्पाको नेतृत्वमा भइरहेको आर्थीक संकलनमा अहिलेसम्म ४ लाख संकलन भएको र अझै संकलन कार्य जारी रहेको शेर्पाले बताउनुभयो ।

हाल हङकङमा बस्दै आउनु भएको शेर्पाको घर गुम्बा नजिर्क रहेको छ । हालसम्म गुम्बा पुनर्निर्माणका लागि विभिन्न व्यक्तिबाट ४५ लाख बढी सहयोग संकलन भएको आर्थीक संकलन समितिले जनाएको छ । २०७२ सालको भूकम्पबाट ध्वस्त भएको गुम्बाको भित्रको सामाग्रीको संरक्षण तथा पुनर्निर्माणलागि कुनैपनि निकायले चासो नदेखाएपछि स्थानीयले आर्थीक सहयोग अभियान सञ्चालन गरेको बताइएको छ । आर्थीक संकलन पश्चात गुम्बा पुनर्निर्माणको कार्य आगामि मङ्सिरबाट सुरु गरिने अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।

गुम्बा पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ भन्दा माथि सहयोग गर्नेलाई संरक्षक सदस्यको प्रमाण–पत्र र नाम, ठेगानासहित गुम्बाभित्र फोटो सजाइने समितिले जनाएको छ । एक लाख भन्दा माथि सहयोग गर्नेलाई आजीवन सदस्य दिएर नाम, ठेगानासहित फोटो गुम्बामा राखिने छ । पचास हजार भन्दा माथि सहयोग गर्नेहरुको नाम ताम्रापत्रमा लेखिने र दश हजार भन्दा माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा लेखिने जनाइएको छ ।