
खोटाङ, असोज १ । खोटाङको दिक्तेलमा सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबले जीतेको छ । शनिबार सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानकालागि शुक्रबार भएको खेलमा हलेसीले युवा जागरण क्लबलाई २–१ गोल अन्तरले पराजीत गरेको थियो ।
खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरर्वाड साकेलाका प्रसान्त राई र बाम्राङका सुजन खवास उत्कृष्ट मिड फिल्डर चुनिएका छन् । उनिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक समता फुटबल क्लबका सचिव सुमन हिङमाङले बताए ।
दिक्तेलको माटिकोरे खेलमैदानमा भदौ २५ गतेबाट सुरु भएको खेलमा १७ समुहले सहभागिता जनाएका थिए । प्रथम पुरस्कारको प्रायोजन एमालेका नेता दिपक ठटाल र माओवादीका नेता मिलन चाहार, दोस्रो पुरस्कारको प्रायोजन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई र तेस्रो पुरस्कारको प्रयोजन ग्लोबल वरियन्स नेपालले गरेको आयोजक क्लबका सचिव सुमन हिङमाङले जानकारी दिए ।
