
खोटाङ, असोज ३ । संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट ५ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा ५ पुरुषको कैद मिनाहा भएको निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुुभयो ।
रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई र रत्नबहादुर थापा रहेका छन् । यस्तै, ज्यान मार्ने उद्योगका धनबहादुर राई, हातहतिया मुद्दाका मनकाजी राई र सवारी ज्यान मुुद्दाका भविन बस्नेत रहेका आचार्यले बताउनुभयो ।
संविधान दिवसको अवसरमा खोटाङका ५ सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनाको सजाय माफी गर्नुभएको हो ।
