
खोटाङ, असोज २ । विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले सूचना जारी गर्दै महसुल नतिर्ने ग्राहकको लाइन असोज ४ देखि ७ गतेसम्म धमाधम काटिने जनाएको छ ।
‘नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत महसुल नबुझाएमा विना सूचना जुनसुकै समयमा लाइन काटिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम समयमै महसुल नबुझाउने ग्राहकको लाइन धमाधम काटिने छ ।’ सूचनामा लेखिएको छ ।
मिटर रिडिङ भएको ७ दिन भित्र महसुल बुझाउनेलाई २ प्रतिशत छुट समेत रहेको प्राधिकरणले जनाएको छ । महसुल अनलाइनबाट पनि बुझाउन मिल्ने व्यवस्था नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छ ।
