
खोटाङ, असोज २ । तीन वर्ष भित्रमा खोटाङमा १ सय ८३ जनाले आत्महत्या गरेका छन् । आर्थीक वर्ष २०७६/७७ देखि ०७८/७९ भित्रमा जिल्लाका १ सय ८३ जनाले विभिन्न कारणले आत्महत्या गरेर ज्यान गुमाएका छन् । चालु आर्थीक वर्ष ०७९/८० को दुई महिनामै ९ जनाले आत्महत्या गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम बालक रायले आत्महत्या सम्बन्धी तथ्याङक प्रस्तुत गर्दै जिल्लाको तीन वर्षको अवस्था बताउनुभएको हो । रायका अनुसार तीन वर्षमा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र आत्महत्या भएको छ । यस नगरपालिकामा ४१ जनाले आत्महत्या गर्दा सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा ८ जनाले आत्महत्या गरेका छन् ।
जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकामा ११/११ जनाले आत्महत्या गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २०, रावा बेसी गाउँपालिकामा १४, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकामा २२/२२ जनाले आत्महत्या गरेको छन् । तीन वर्षमा आत्महत्या गर्ने १ सय ८३ जनामा १ सय १४ जना पुरुष र ६९ जना महिला रहेका छन् । प्रहरीको तथ्याङक अनुसार २६–४५ वर्ष उमेर समुहका मानिसहरुले अन्यको तुलानामा सबै भन्दा धेरै आत्महत्या गर्नेगरेको पाइएको छ ।
सचेतनामूलक कार्यक्रम
आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले आइतबार सचेतनामूलाक कार्याक्रम गरेको छ । प्रहरीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीदेखि विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
बिहान सचेतनामूलक अडियो र प्ले कार्डसहित जिल्ला प्रशासन कार्यालयदेखि रत्नपार्कसम्म ¥याली निकालिएको थियो । रत्नपार्कबाट फर्किएर समिक्षालय हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नितु लामाले आत्महत्या गर्नबाट बचाउन सकिने बताउनुभएको छ । ‘मानिसले आत्महत्या गर्दै छ भन्ने कुराहरु अगाडि नै थाहा हुन्छ । त्यसको लक्षण हामीले थाहा पाउन सकियो र सहयोग गरियो भने उसलाई बचाउन सकिन्छ ।’ डाक्टर लामाले भन्नुभयो ।
मानसिक रोग भएको, सधै दुःख र पिडाको मात्र कुरा गर्ने, पटक–पटक मर्ने कुरा गरिरहने लगायत आत्महत्याका लक्षणहरु हुन् । त्यसैले त्यस्ता व्यक्तिहरुलाई एक्लै नछाडि सम्झाई बुझाई गर्न सके आत्महत्याबाट बचाउन सकिने डाक्टर लामाले बताउनुभयो । यस्तै प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राम बालक रायले धेरै मद्यापन तथा लागुपदार्थ सेवनबाटपनि आत्महत्या हुनसक्ने बताउनुभएको छ । त्यसैले त्यस्ता व्यक्तिहरु र आत्महत्या गर्ने लक्षण देखिएका व्यक्तिहरुलाई बचाउन कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरी लगायतको पहुँचबाट टाढा राख्नुपर्ने उहाँको भनाइ छ ।

आत्महत्याका मुख्य कारणहरु
आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पर्ने कार्यलाई बुझिन्छ । असफलता, बेरोजगार, गरिबी, नकरात्मक सोच, आलुऔषध दुब्र्यसन, अत्याधिक मदिरा सेवन, मानसिक रोगी, महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछुत, अवहेलना, हालसालै घटेका तनाव दिने घट्नाहरु, कम गुणस्तरको जिवन शैली, पुरानो तनाव, पारिवारिक कलह, अघिल्लो आत्महत्याको प्रयास, अरुको सिको, अत्याधिक चिन्ता, अवैध गर्भ धारण, अभिभावकले बालबालिकालाई उचित समय दिन नसक्नु, बृद्धबृद्धाको उचित हेरचाह नहुनु ।
आत्महत्या कसरी रोक्न सकिन्छ ?
आत्महत्या गराउन सक्ने तरिकामा पहुंच घटाउने(जस्तै, कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरी),विशेषगरी डिप्रेसन, मद्यपान र सिजोफ्रेनियाको बिरामीको उपचार गर्ने, मिडियाले जिम्मेवारीपूर्वक सामाग्री प्रसारण गर्ने, प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरुलाई तालिम दिने, पूर्णरुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधिद्धारा उपचार गर्ने, सकारात्मक सोचको विकास गर्ने, नियमित शारिरिक व्यायाम, योग तथा खेलकुदमा सामेल हुने साथै नयाँ स्थानमा घुमफिर गर्ने तथा मनोरञ्जन लिने । श्रोत : प्रहरी




