
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसमेतको सहकार्यमा स्वास्थ्य शाखाले मंगलबार दिक्तेल बजारमा लार्भा खोज्दै नष्ट गर्ने कार्य गरेको छ ।
नगर प्रमुख तिर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाइ लगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा बजार भित्र लार्भा खोज्दै नष्ट गर्ने र डेंगुबाट बच्ने चेतना नागरिकलाई दिदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । ‘दिक्तेल बजारका हरेक घरमा पुगेर आज हामीले डेंगुका लार्भा खोज्दै नष्ट गर्ने काम गर्यौ । साथै डेंगुबाट कसरी बच्न सकिन्छ भनेर नगरिकहरुलाई भन्यौँ । बिशेषगरी पानी जम्न नदिन भन्यौँ ।’ आचार्याले भन्नुभयो ।
जिल्ला अस्पतालका अनुसार जिल्लामा मंगलबारसम्म २५ जनामा डेंगु संक्रमण भएको छ । जसमध्ये अधिकांश दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका रहेका छन् । बुधबारबाट नगर भित्र संक्रमण भएका व्यक्तिहरुको घर नजिकका लामखुट्टेको लार्भा नष्ट गर्ने र डेंगुबाट बच्ने चेतना त्यस वरीपरीका नागरिकलाई दिने अभियान सुरु गरिने आचार्यको भनाइ छ ।

के हो डेंगु, कसरी बच्न सकिन्छ ?
डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट ंलाग्ने रोग हो । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांशपेशीहरु दुख्नु, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरु हुन् । शरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा पिउन गाह्रो हुनु, फरक किसिमको व्यवहार तथा बेहोस हुनु, शास फेर्न गाह्रो हुनु तथा हातखुट्टा चिसो हुनु, पिशाव कम मात्रामा आउनु डेंगुका जटिल लक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईले बताउनुभयो ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ, थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कक्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने, पानीका ट्याँक्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राख्ने, कुलर, एसी र फ्रिजको वास्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने गर्नुपर्दछ ।
यस्तै, यस लामखुट्टेले दिउँसो टोक्ने हुंदा दिउँसो बस्दा पनि प्रायः पुरा बहुला वा शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्दछ, संम्भव भएसम्म दिउँसो सुत्दा झुलको प्रयोग गर्ने साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र डेंगु रोगको लक्षण चिन्ह देखिने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने चौलागाईले बताउनुभयो ।
