
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय ११ दिन पछि खुलेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले भदौ २५ गते शुक्रबार अनिश्चितकालकालागि काम रोक्दै वडा कार्यालयमा ताला लगाएका थिए ।
लामो समय बन्द रहेको वडा कार्यालय नगरपालिका र वडाका जनप्रतिनिधि बिच सहमति भएपछि मंगलबारबाट खुलेको छ । विभिन्न मागसहित भदौ २५ मा वडा कार्यालय बन्द गरिएपनि नगरले कुनै वास्ता नगरेहको भन्दै भदौ ३१ गते वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई वडाको चाबी बुझाउनु भएको थियो ।
मंगलबार नगरपालिकाको कार्यालयमा नगर प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विसन राई र वडाका पाँचै जना जनप्रतिनिधि बिच भएको छलफल पश्चात वडाध्यक्ष चौहानलाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले चाबी बुझाउनु भएको छ । चाबी बुझेसँगै मंगलबाटै वडाकार्यालय खुला भएको चौहानको भनाइ छ ।
वडाको माग अनुसार वडा सचिवको व्यवस्थापन, कार्यालय सहयोगीको करार थप गर्ने सहमती भएको वडाध्यक्ष चौहानले बताउनुभयो । सचिवकारुपमा मिनप्रसाद आचार्यलाई नगरले खटाएको उहाँको भनाइ छ । सचिव आचार्य यसअघिनै उक्त वडा कार्यालयमा नगरले खटाएको पाइएको छ । तर वडालाई आधिकारीक पत्र भने नपठाएको देखिएको थियो ।
यस्तै, मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि गुणस्तरहिन भन्दै नगरपालिकाले भुक्तानी दिएको थिएन । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परिक्षण नगरी योजना गुणस्तरहिन रहेको भन्दै कागजातमा लेखिदिएको वडाध्यक्ष चौहानको आरोप थियो । तर उक्त योजना गुणस्तरहिन भएको भन्दै अख्तियरमा उजुरी परेको र छानबिन भइरहेको बताइएको छ । तसर्थ योजनाको अख्तियारले छानबिन गरिरहेकाले भुक्तानी दिन नमिलेको हो, अख्तियारले भुक्तानी दिन अनुमती दिएपछि भुत्तानी दिइनेछ भनेर नगरले पत्र लेख्नु पर्ने वडाको माग रहेको र सोही अनुसारको सहमती भएको वडाध्यक्ष चौहानको भनाइ छ ।
