
खोटाङ, असोज ५ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार)का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेनको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दापनि सञ्चालनमा आउन नसकेको हो ।
लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या रहेको भन्दै चिस्यान केन्द्र उद्घाटनमा सबैले खुशी व्यक्त गरेका थिए । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको प्रतिनिधिसभा सांसद विशाल भट्टराई, तत्कालिन नगर प्रमुख दिप नारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतको उपस्थितिमा २५ चैत २०७८ मा तामझामका साथ उद्घाटन गरिएको थियो ।
उद्घाटनको समयमा किसानले उत्पादन गरेका तरकारी र फलफुल कुहिएर जाने समस्याको अन्त्य भएको सबैले बताएका थिए । तर निर्माण भएर ६ महिना बित्दा पनि केन्द्र सञ्चालनमा आएको छैन् । एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्रमा एकैपटक ३० टन कृषि उपज भण्डारण गरेर सुुरक्षित राख्न सकिने बताइएको छ ।
नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको वडाले रेखदेख मात्र गर्ने वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । सञ्चालनको कार्यविधि निर्माण नगरपालिकाले नगरेका कारण अहिलेसम्म सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । कार्यविधि चाडै बनाएर केन्द्र सञ्चालनमा ल्याउने पहल गरिने वडाध्यक्ष राईको भनाइ छ ।
यता नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईका अनुसार नगरपालिका भित्र सम्पन्न भएका तथा सञ्चालन भइरहेका योजनाहरुको बारेमा सम्पुर्ण विवरण संकलन गर्न नगर कार्यपालिकाको बैठकले समिति बनाएइको छ । उक्त समितिले विवरण बुझाएपछि आवश्यक कार्य अघि बढाइने नगर प्रमुख भट्टरार्ईले बताउनुभयो ।

