Wednesday, April 15News That Matters

म्यादी प्रहरीका लागि खोटाङमा १५ सय बढीको आवेदन, असोज ९ बाट छनोट सुरु हुने

फाइल तस्विर

खोटाङ, ७ असोज । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादि प्रहरीको दरखास्त समय सकिएको छ । गत भदौ ३० गतेदेखि सुरु भएको दरखास्त असोज ६ गते बिहिबार सकिएको हो ।

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । जसमा ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक रामबालक रायले बताउनुभयो ।

दरखास्त समय सकिएसँगै छनोटकालागि जिल्ला प्रहरी कार्यालय खोटाङले सूचना निकालेको छ । स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ गतेदेखि असोज १४ गतेसम्म दिक्तेलको हेलीप्याडमा सञ्चालन हुने सुचनामा उल्लेख छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरिसकेका र पुर्व सुरक्षाकर्मीले भने स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा दिन नपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीको अन्तिम नतिजा असोज २५ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ देखि १३ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने बताइएको छ ।