
खोटाङ, असोज ६ । चलचित्र ‘संघार’ खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ । लेखक तथा साहित्यकार प्रयास दुमी राईनिर्देशित संघार दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको बताइएको छ ।
चलचित्र दशैंलाई छेको पारेर खोटाङ, उदयपुर र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको माक्पा, नोरूङ, जलेस्वरी लगायत आसपासका विद्यालयमा, खोटाङकै जन्तेढुंगा गाउँपालिकामा प्रदर्शन गरिने निर्देशक दुमीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टार बसाहा र भोजपुरको अन्नपूर्ण पानधारे दावा, भोजपुर पाङ्खाङ, चखेवा लगायतका स्थानहरुमा प्रदर्शन गरिने उहाँको भनाइ छ ।
पुर्वका विभिन्न स्थानमा प्रदर्शन पश्चात चलचित्र संघीय राजधानी काठमाडौँ साथै अन्य देशशरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनिशा चाम्लिङ, विवेक दुमी राई, सम्झना राई, उदिप राई, पेशल राई, पबिनाराईलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथाको सार :
काइँलाले एउटा छोरी र एउटा छोरा सहित तेस्रो श्रीमतीको रुपमा छु डोमालाई सोलुखुम्बु बाट खोटाङ ल्याएपछि कथा अगाडि बढ्छ ।काइँलाबाट कहिल्यै सन्तान हुन सक्दैन र उसलाई सबभन्दा धेरै गुनासो आफैसँग छ । तर काइँला चाहान्छ– प्रकृतिले आफूलाई बाबु बन्ने गुण नदिए पनि शेर्पेनी पट्टिको एक छोरा र छोरीलाई आफ्नै सन्तान सरह ठानेर असल बाबुको कर्तव्य निर्वाह गर्न चाहान्छ ।
अर्को पात्र छन्न्– गान्पा । जो आफ्नो नाती नुहाङलाई बुढेसकालको सहारा ठानेर बाँचिरहन्छन् । नुहाङ शहर गएर उच्च शिक्षा हासिल गर्न चाहान्छ, साथ साथै गाउँ फर्केर गाउँको फितलो शिक्षा प्रणालीमा सुधार ल्याउन चाहान्छ । काइँलाको झड्केलो छोरी याङ्जी र नुहाङ एक अर्काबिचमा बच्चै देखि गहिरो आत्मियता छ ।
दुई परीवारको आर्थिक स्थितीको भिन्नता, सामाजिक,सँस्कृतिक र राजनैतिक भेदभावमा रूमलिनुपर्दा साँचो प्रेमले गर्ने संघर्ष, बाध्यता, अभाव र दुबिधाहरूले थिचिदा उत्पन्न हुने मानसिक समस्याहरू झेल्नु पर्दा पात्रहरूको कष्टकर जीवन शैली, कथाले लिने मोडहरू कल्पना भन्दा बाहिर रहलान् ।
एउटा बाबुले सन्तानको निम्ति भलै आफ्नै रगत नहोला तर सधैं असल बाबु बन्न कतिसम्म प्रयत्न गर्ला ?
सामाजिक,साँस्कृतिक,आर्थिक र प्रेमले थिचिएको मान्छेले कहिलेसम्म मानसिक स्थिती ठिकठाक राख्न सक्ला ?
सहारा दिने मान्छे आफै ढल्दा तीनैको सहारामा बाँचिरहेको बुढो उमेरहरू कसरी आफ्नो आयु पर्खेलान् ?
एउटी बिवाहीत नारीले हरेक साँझ–बिहान आँसु सँग भात मुछेर खानुपर्दाको पिडा कति गहिरो हुन सक्छ ?
घरवार कस्ले बनाउछ ? कस्ले बिगार्छ ? कसरी ?
नभने पनि थाहा दिने गरी गरिएको प्रेमको जित हुन्छ कि हार हुन्छ ?
हारेको मान्छेले आफू साच्चै हारेँ भनेर नसोच्दासम्म ऊ हारेकै हुन्छ कि हुदैन ?
आफ्नो स्वार्थको लागी मान्छेले मान्छेलाई देखाउने सपनाको पहाड कति अग्लो हुन्छ ?
यी तमाम् प्रश्नहरुको जवाफ हरेक पात्रहरुले आफ्नै शैलीमा पक्कै दिनेछन् । जसकालागि चलचित्र हेर्नुपर्ने निदेर्शक प्रयास दुमी बताउनुहुनछ ।
लगलाइन-ओठ हैन ……मान्छेको मन हाँस्नु पर्छ भनेर सोँच्ने नुहाङ (२०) घरको छाना चुहिने भएपनि छानामुनि बस्ने मान्छेको आँखाबाट आँसु चुहिनुहुन्न भन्ने जीवन दर्शनमा बाँच्छ । हरेक पात्रहरूको आ–आफ्नै लामो कहानी रहेको निदेर्शक दुमी बताउनुहुन्छ । दुमीको भनाइ अनुसार समग्रमा, न भीत्र न बाहिर सँघारमा च्यापिएका भुइँ मान्छेहरूको कथा भन्ने फिल्म हो–सँघार ।
चलचित्रको टिजर यस लिङ्कमा हेर्नसक्नुहुनेछ ।
