
खोटाङ, असोज २२ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकालागि सिट भागबन्डामा खोटाङ कांग्रेसले असन्तुष्टि जनाएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।
सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ ।
केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका छन् । जिल्लामा सबै भन्दा ठुलो पार्टी रहेको कांग्रेसको भागमा एउटा प्रदेश सभा मात्र पर्नु ठुलो अन्याय भएको र उक्त निर्णय नसच्याए स्वातन्त्र उम्मेद्वारी दिन सक्ने पत्रमा लेखिएको छ ।
“एक संघ र दुई प्रदेश क्षेत्र भएको जिल्लामा संघमा माओवादी र प्रदेश क मा गठबन्धन जोगाउने नाममा नेकपा एसलाई दिदा न गठबन्धन सुरक्षित हुन्छ न प्रतिगमन रोक्न सकिन्छ । यसकारण स्थानीय निर्वाचनको मतभारलाई हेर्दा सिंगो जिल्लाभरी २१ सय ४४ मत पाएको पार्टीलाई र त्यसको उम्मेद्वारलाई विजयी गराउन नसकिने हुँदा सभापति ज्यु लगायत गठबन्धनका नेतृत्वलाई अनिवार्य रुपमा यो निर्णय सच्यान आग्रह गर्दछौँ । यदी यसो नभएमा यसबाट पुग्ने सम्पुर्ण क्षतिको जिम्मेवार नेतृत्वगण स्वयं हुनेछ भने हामी खोटाङमा मित्रवत स्वतन्त्र प्रतिस्पर्धा गरी कार्यकर्ताको भावनाको कदर र मतको सुरक्ष ागर्ने ब्यहोरा नेतृत्व वर्गलाई सविनय जानकारी गराउछौँ ।” पत्रमा लेखिएको छ ।
