Friday, April 17News That Matters

रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा

खोटाङ, कात्तिक २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र १३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धि वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ ।

वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरु सहभागी छन् । चार वटा समुह बनाएर एक हप्ता अघिबाट कक्षा सुरु गरिएको बताइएको छ । एउटा समुहमा २० देखि २५ जनाको रहेका छन् । २१ हप्तासम्म निरन्तर वित्तीय साक्षरता कक्षा संचालन गरिने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोन बाबु आचार्यले जानकारी दिनुभयो ।

रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले सामी कार्यक्रम अन्तर्गत नगरपालिकाको दुई वटा वडामा उक्त कार्यक्रम गरिएको आचार्यले बताउनुभयो । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्स सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास आय आर्जनमा वृद्धि, व्यवसायिकता, साथसाथै अन्य आर्थिक, व्यवहारिक विषयवस्तुहरुमा छलफल हुनेछ । वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिहरुमा हुने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिईने आचार्यको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा नेर्पा र बुईपामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संचालन गरिएको थियो। बाँकी वडाहरुमा क्रमशः वित्तीय साक्षरता कक्षा संचालन गरिनेछ । यस्तै, वित्तीय साक्षरता कार्यक्रम हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकाले पनि संचालन गरिरहेको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सामी कार्यक्रम संचालन गरिरहेका छन् ।