Wednesday, April 29News That Matters

एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)

हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई

खोटाङ, कात्तिक २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भइरहेको खानेपानीको समस्या एक वर्ष भित्रमा समाधान हुने मेयर विमला राईले बताउनुभएको छ । हाल नगरपालिकाका अधिकांश ठाउँमा खानेपानीको समस्या रहेको छ ।

सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको छ । तर सम्झौता समय नाघिसक्दा पनि कामले पुर्णता पाएको छैन् । उक्त आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हाल अलपत्र जस्तै बनिरहको खानेपानी योजना सम्पन्न गर्न मन्त्रलायदेखि सम्बन्धित सबै निकायमा कुरा गरिरहेको र एक वर्ष भित्र काम सम्पन्न हुने मेयर राईले बताउनुभयो । ‘नगरपालिका भित्र सञ्चालन भइरहेको बृहत् पम्पिङ खानेपानी आयोजनासँगै अन्य खानेपानी योजनाहरु पनि सञ्चालन भइरहेका छन् । त्यी सबै योजना चाडै सम्पन्न हुन्छ, त्यसपछि नगरपालिकाका सबै नागरिकले स्वच्छ खानेपानी पिउन पाउने छन् । त्यो काम एक वर्ष भित्रमा हुन्छ ।’ मेयर राईले भन्नुभयो ।

समग्र नगरपालिकाको विषयमा मेयर राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाई निर्वाचित भएको पाँच महिना पुग्यो, अहिलेसम्म के–के गर्नुभयो ?

म निर्वाचित भएको आधा वर्ष भयो । निर्वाचित भएको पहिलो वर्षलाई हामीले खास गरेर योजनाको वर्षमा लिएका छौँ । सोही अनुसार योजना निर्माण गरिरहेका छौँ । केही महत्वपुर्ण निर्णयहरु गरेकाछौँ, जुन कार्यन्वयन हुन थालिसकेको छ । सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेपनि विभिन्न बहानामा विद्यार्थीबाट रकम लिएको पाइन्छ । जसलाई हामीले अब नलिने अठोटका साथ नगरपालिकामा (जेरो फि) कार्यक्रम लागू गरेका छौँ । ९० वटा सामुदायिक मध्ये ८९ वटा विद्यालायमा इन्टरनेटको सुविधा पु¥याएका छौँ । १७ विदालयमा आइसिटिका सामान वितरणसँगै सञ्चालनमा ल्याएका छौँ ।

विद्यालयमा विद्यार्थी संख्या र शिक्षक दरबन्दी नमिलिरहेको अवस्था थियो । त्यसलाई केही हदसम्म मिलाउने प्रयास गरेका छौँ । विद्यालयहरुमा स्थानीय चाम्लिङ भाषा, नेपालकै लोपोन्मुख तिलुङ भाषालाई अध्ययपन गराउन थालेका छौँ । माध्यमिक विद्यालयको कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग शिक्षा सुधारमा छलफलसँगै क्षमता अभिवृद्धिको तालिम प्रदान गरिरहेका छौँ ।

स्वाथ्य क्षेत्रमा यो वर्षपनि जिल्ला स्वास्थ्य कार्यालयले गरेको मुल्याङकनमा यस नगरपालिका प्रथम भएको छ । यहाँ नगर अस्पताल सञ्चालनसँगै चिकित्सकको व्यवस्था गरेका छौँ । एम्वुलेन्स खरिदको प्रक्रियामा छौँ, तीन महिना भित्रमा एम्वुलेन्स पनि हुनेछ हामीसँग । विकट मानिने भाडवेँसीमा शहरी स्वास्थ्य केन्द्र स्थापन गर्दै एक जना स्वास्थ्यकर्मी त्यहाँ खटाएका छौँ । विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ । आवश्यकता अनुसार चस्मा वितरण गरेका छौँ । मोतिविन्दु भएकाहरुलाई यहि कात्तिक १९ देखि २१ गतेसम्म शिविर सञ्चालन गरेर निःशुल्क शल्यक्रिया गर्दैछौँ ।

एक टोल एक उत्पादन भन्ने नीति अगाडि सारेका छौँ । सोही अनुसार बजेट विनियोजन गरेर काम अगाडि बढाएका छौँ । अहिले माटो परिक्षण भइरहेको छ । केही समय पश्चात एकीकृत बाली लगाउने छौँ । विशेष आफ्नै महत्व बोकेको हलेसीको विषयमा यथार्थ जानकारी दिनकालागि स्थानीय पर्यटक गाइडको तालिम दिने योजना अघि सारेका छौँ । जसअनुसार २५ जनालाई तालिमसँगै रोजगारीको व्यवस्था पनि हुनेछ । रक गार्डेन (ढुंगाको बगैँचा) निर्माण हुँदैछ । धर्मशाला अन्तीम चरणमा पुगेको छ ।

काम गर्न कत्तिको सहज हुँदैछ ?

म नयाँ जनप्रतिनिधि हैन, नयाँ जिम्मेवारी पाएको मात्र हुँ । पहिले नीतिगत हिसाबमा अन्यल थियौँ । जनशक्ति कम थियो अहिले पुर्ण भएको छ । इन्जिनियर, चिकित्सक, प्रमुख प्रशासकीय अधिृकत लगायतका कर्मचारीको व्यवस्था भएको छ । नीति निर्माणमा जनप्रतिनिधि र त्यसको कार्यन्वयनमा कर्मचारी भएकाले कर्मचारी अभाव हुँदा हामीलाई समस्या थियो, तर अहिले समाधान भइसकेको छ । हामी पुर्ण छौँ त्यसैले असजह छैन ।

तपाईको प्राथमिकता के हो ?

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वधार यि पाँच वटा मेरो प्राथमिकतामा पर्छन् । एउटा असल नागरिक उत्पादन गर्न शिक्षा आवश्यक छ । मानिस बाँच्नकालागि स्वस्थ्य, कृषि आवश्यक छ । अनि नगरपालिकाको आर्थिक स्रोत मजबुत बनाउन पर्यटकको आवश्यक छ । हामीले अहिलेसम्म पुर्वधार मात्र निर्माण गर्यौँ। तर त्यसको प्रयोग गर्न जानेनौँ । त्यसैले सबै भन्दा महत्वपुर्ण कुरा यि पाँच वटा हुन् ।

तपाईसँग नगरबासीले के आशा गर्ने ?

आशा र अपेक्षा व्यत्तिगत हुन्छ, सबैको एउटै हुँदैन । आवश्यकतालाई प्राथमिकिकरण गरेर काम गर्ने हो । म यहिँको नागरिक भएकोले सबैको आशा समस्या बुझेको छु । सोही बमोजिम म र मेरो कार्यपालिका टिम लागिरहेको छ । हामी कसैलाई पनि निरास बनाउने छैनौँ ।

हिजो तपाई उपमेयर हुनुहुनथ्यो ? अहिले मेयर हुनुहुन्छ, तर जनताको जीवन स्तर उस्तै छ ?

मान्छेको आर्थिक अवस्था, चेतनाको अवस्था र विकास निर्माणको अवस्थालाई हेर्दा फरक फरक पक्कै पाइन्छ । केही भएको छ र केही हुन सकेको छैन् । तर हरेक क्षेत्रमा केही परिवर्तन भएको छ । सोँचे जती कृषिमा हामी सफल हुन सकेका छैनौँ ।

सफल हुने क्रममा छौँ । अब कृषिसँग पर्यटन जोडेर काम गर्नेछौँ । विस्तारै हिजोको अवस्था भन्दा आजको अवस्था सहन सक्ने हुँदैछ । म यहाँबाट विदाहुँदै गर्दा पुर्ण व्यवसायिक बनाउनेछु । मैले यो कुरा घोषणा पत्रमा पनि उल्लेख गरेको छु ।

तपाईको कार्यकालमा केके हुन्छन् ?

विद्यालय विद्यालय जस्तो हुनेछ त्यहाँ राजनीति हुनेछैन । अहिले १ वडामा मात्र प्रशासकनीक भवन छ । मेरो पालामा सबै वडामा निर्माण हुनेछ । नगरपालिकाको प्रशासनीक भवन, सुविधा सम्पन्न अस्पताल निर्माण हुनेछ । त्यसपछि यहाँको नागरिकले यहि सेवा लिन पाउने छन् ।
उत्पादनसँगै व्यवसायिक र बजारिकरण हुनेछ । खानेपानीको समस्याको अन्त्य हुनेछ । नगरसँग जोडिएको हरेक वडा जाने बाटो स्तरोन्नती हुनेछ, अन्तर पालिका र जिल्ला जोड्ने बाटो स्तरोन्नतीसाथै विस्तार हुनेछ, पुलहरु निर्माण हुनेछ । दिनमा हजारौँ पर्यटक भित्रीने वातवरण बनाएर यहाँको आम्दानी यहाँको समृद्धिलाई रेखा कोरेर, इतिहास कायम गरेर म यस नगर प्रमुखबाट विदा हुनेछु । मेरो कार्यकालमा पछाडि परिरहेका जो कसैले सरकारको अनुभूति गर्न पाउने छन् ।