
खोटाङ, कात्तिक २६ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित सडकको बिचमा बार लगाएर स्थानीयले सडक बन्द गरेका छन् । बीच सडकमा ढल फुट्दा सवारी साधन आवतजावसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन् ।
करीब ४ महिना अगाडि सडकको बिचमा ढल फुटेर समस्या उत्पन्न भएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजालले बताउनुभयो ।
सोही ठाउँमा केही दिन अगाडि विद्युतको पोलमा ठोक्कीएर बस दुर्घटनासमेत भएको थियो । दुर्घटनामा एउटा घरमा सामान्य र मोटरसाइकलमा क्षति पुगेको बताइएको छ । ढलको पुनर्निमाण नगरि सवारी साधन चलाउदा झन ठुलो क्षति हुने भएकाले सडकको बिचमा बार लगाएर बन्द गरिएको उनिहरुको भनाइ छ । ढल मर्मत नभएसम्म बार नखोल्ने स्थानीयले बताएका छन् ।
ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जनाएका हुन् । केही समय अघि ढल फुटेर कोदोमा क्षति पुगेको स्थानीय रमेश प्रसाद आचार्यको गुनासो छ ।
ढल फुटेर स्थानीयले सास्ती भएको गुनासो गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले एक महिना अघि अनुगमन गर्नुभएको थियो । ढल निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरिएका कारण उक्त समस्या सिर्जना भएको देखिएको मेयर भट्टराईको भनाइ थियो । मेयर भट्टराईले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाडै उक्त समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
