
खोटाङ, मंसिर २ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पत्रकारको परिचयपत्र दुरुपयोग गर्नेलाई कानुन बमोजिम कारबाही हुने पत्रकार महासंघ खोटाङले जनाएको छ । चुनावको दिन परिचयपत्रका आधारमा पत्रकारलाई सवारी सधान चलाउन दिने निर्णय भएको छ । तर पत्रकारको परिचयपत्र बोकेर अन्य व्यक्तिले सवारी साधन चलाउन सक्ने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही हुने महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीले जारी गरेको अपिलमा उल्लेख गरिएको छ ।
अपिलमा लेखिएको छ, ‘मंसिर ४ गते मतदानको दिन सञ्चारकर्मीलाई समाचार संकलन लागि सम्बन्धित निकायले दर्ता भएका मिडिया हाउसले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा आवतजावत गर्न दिने सहमती भएको छ । समाचार शाखाका कार्यरत पत्रकारले मात्र परिचयपत्र देखिने गरि निर्वाचनको दिन सवारी साधानको प्रयोगसहित समाचार संकलनमा खटिन महांसघ आग्रह गर्दछ । यदि समाचारमा काम गर्ने बाहेक अन्यले परिचय पत्रको दुरुपयोग गरेको पाइएमा कानून बमोजिम कार्वाही हुनेछ । त्यसको जवाफदेही परिचयपत्र जारी गर्ने स्वयं मिडिया हाउस नै रहने सम्पूर्णमा जानकारी गराउँदछौ । सवारी साधनको प्रयोग गर्दा दुई पाङ्ग्रेमा परिचयपत्र सहित दुई जना मात्र र चार पाङ्ग्रेमा सिट अनुसार सबै परिचय पत्रसहित मात्र प्रयोग गर्न हुन अनुरोध छ । पत्रकारितालाई मर्यादित बनाउनु हामी सबै सञ्चारकर्मीको दायित्व भएकाले कँही कतै कसैले परिचय पत्रको दुरुपयोग गरेको भेटाएमा सुरक्षाकर्मीको जिम्मा लगाउन पनि महासंघ अनुरोध गर्दछ ।’
यस्तै, निर्वाचनमा क्रममा समाचर संकलन गर्दा केही समस्या भएमा पत्रकार महासंघ खोटाङ शाखाका पदाधिकारी वा सदस्यहरुलाई जानकारी गराउन पत्रकार महासंघ खोटाङ शाखाले अनुरोध गरेको छ ।

