
४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका प्रदेशसभा सदस्यका तीन उम्मेदवारले एकै मतदान केन्द्रबाट मतदान गरेका छन् ।
प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एमालेका पाँचकर्ण राई (पिके), वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बीरवलकाजी राई र जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईले सहयोगी आधारभुत विद्यालय छिप्ती मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने बीरवलकाजी साविकको बुईपा–१ का हुन् । एकै दाजुभाईभित्रका पाँचकर्ण काका र राकेश साइनोमा भतिजा हुन् । एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् ।
