राजकुमार भट्टराई
खोटाङ, मङ्सिर २२ । वि.स. २०४४ सालमा खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर साविक ८ कट्टिस्थित देउराली डाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे । लोचा खोला (हौँचुर खोला) को पानी खेतसम्म ल्याउन अन्य बिकल्प नभएपछि हौँचुरका केही ब्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली संकलन गरेर ओखलढुंगा मानेभञ्ज्याङका बिर्ख बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा लागाइयो । गाउँलेको जग्गा कृषि बैंकमा धितो राखेर निकालिएको रु १ लाख ४४ हजार ऋण र संकलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो ।
मगरको समुहले देउराली डाँडा मुनी केही भूभाग सुरुङ खने, तर माथीबाट पहिरो झरेर सुरुङ पुरियो । गाउँलेले फेरी लामिडाँडा तिर्पाका हर्क बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा दिए । केही समय खनेपछि पुनः सुरुङ पुरियो, धन्न उनिहरु बाँचे भने उनिहरुले प्रयोग गरेका हम्मर, छिनो, गैति लगायतका सामान भित्रै पुरियो । गाउँलेबाट चन्दा र अन्नबाली संकलन गरेर लोचा खोलाबाट देउराली मुनीसम्म करीब २ किलोमिटर कुलो निर्माण गरिसकेका हौँचुरबासीलाई खेतसम्म ल्याउन २०० मिटर सुरुङ छेड्नु पर्ने बाध्यता थियो ।
दुई पटकसम्म असफल भएको गाउँलेको सपना अन्तत तेस्रो पटकमा पुरा भयो । २०४८ सालमा प्रजातन्त्र पुनस्र्थापना पश्चात २०४९ सालमा हौँचुर गाउँ विकास समितिबाट आफ्नो गाउँ आफै बनाउँ शिर्षकबाट बिनियोजन भएको ६० हजार रकम र पुनः गाउँलेबाट संकलन गरिएको ४० मुरी अन्नबालीले सुरुङ खनिएको तत्कालीन हौँचुर गाउँ पञ्चायतका उपप्रधानपञ्च एवं कुलो निर्माणका अगुवा खगेन्द्र कार्कीले बताउनुभयो ।
जमिन भन्दा २०० मिटर तलबाट पहाड फोडेर २०० मिटर नै लामो सुरुङ खन्न हौँचुरकै चार जनाको समुह सफल भयो । देउरालीमुनीबाट खनिएको सुरुङ पुरिएपछि केही वर हलेसो डाँडा मुनीबाट स्थानीय चंखे सार्की, सरुने नेपाली, स्वर्गीय बिर्ख बहादुर कार्की र स्वर्गीय तम्मर बहादुर कार्कीले ४९ सालबाट ५२ सालसम्म तीन वर्षमा सुरुङ खन्न सफल भए । स्वर्गीय कार्की द्धोयको खाना पकाउने र माटो फाल्ने जिम्मा थियो भने सार्की र नेपालीको भित्र छिरेर खन्ने जिम्मा थियो ।
‘कैलाखानीमा गएर काम गरेको अनुभव थियो मसँग, सोही अनुभव लगाएर त्यो सुरुङ खन्न सफल भएका हौँ । सुरु सुरुमा हम्मर, झम्पल, गैती लगायतका सामान प्रयोग गरेर खन्यौँ, तर भित्र छिर्दै गएपछि त्यी ठुला सामान चलाउन सम्भव थिएन र हामीले छिनो, मार्तोलले बिस्तारी खनेका हौँ । खन्दै जादा सास फेर्न ह्रारो हुन्थ्यो अनि भुइमा लमतन्न भएर सुतेपछि तलको चिसोले केही सहज महसुस हुन्थ्यो ।’ चंखे नेपाली त्यो बेलाको अनुभव सुनाउनुहुन्छ । सुरुङ भित्र मट्टितेल बाल्दा आँखा पोलेपछि मैनबत्ति बालेर उनिहरु काम गर्थे, तर मैनबत्ति सबैतिर नपाएपछि तोरीको तेल दियोमा बालेर सुरुङ खनेको कुरा सुनाउदा सार्की र नेपाली दुवैका आँखा रसाए ।
बिना प्राविधिक पहाड फोडेर सुरुङ खन्नु चानचुने कुरा थिएन । डाँडामा भुइमा कान थापेर सुन्दै भित्र खनेको टुकटुक आवाज कता जादैछ भनेर परिक्षण गर्दै ज्यानको बाजी राखेर सुरुङ खनिएको तितो यथार्थ उनिहरुसँग छ । सुरुङ सम्पन्न पश्चात लोचा खोलाको पानीले २०५२ सालदेखि हौँचुर गाविसको साविक ८ र ७ का करीब २०० रोपनी जग्गामा दुइ बाली धान र एक बाली गहुँ वर्षमै तीन बाली अन्न फल्दै आएको गाउँले बताउछन् । सोही सुरुङ कुलोको पानी बेँसी खेतसम्म पनि पुग्ने गरेको छ । सुरुङ माथी २ वटा घर छन्, त्यी घरलाई कुनै असर नभएको उनिहरुको भनाइ छ । केही वर्ष अघि कुलोको स्तरउन्नोती पनि गरिएको छ भने बाह्रै महिना कुलोमा पानी सञ्चालन हुन्छ । सुरुङ खन्ने ब्यक्तिहरुलाई वडाले यो वर्ष सम्मानको कार्यक्रम पनि राखेको वडाले जनाएको छ ।
सुरुङ कुलो भन्दा तल ऐतिहासिक भूमेस्थान र सुरुङ माथी प्रिमाकोटगढी छ । यी तिनै वडा ऐतिहासिक क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्र बनाउने वडाले योजना बनाएको वडाध्यक्ष चिरञ्जीवि कार्की बताउनुहुन्छ । केही समय भित्रमा डिपिआर तयार हुने उहाँको भनाइ छ । बिशेष मानव निर्मित सुरुङ कुलो र ऐतिहासिक भूमेस्थान साथै प्रिमाकोटगढी समेटेर पर्यटकीय स्थल बनाएर प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्छ ।