
खोटाङ, मङ्सिर २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रि–धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरको सुरक्षाका लागि र अपराधीक क्रियाकलाप हुन नदिन पुनः क्यामेरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो ।
पहिले जडान गरिएको क्यामेरा चट्याङले बिगारे पछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामेरा बिहिन बनेको थियो । क्यामेरा नहुँदा मन्दिरको भेटी लगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कलम गिरीले बताउनुभयो । सुरुमा हलेसी महादेव मन्दिर व्यवस्थापन समिति र हलेसी महादेवस्थान विकास समितिको १५ लाख बजेटमा जडान गरिएको क्यामेरा चट्याङले बिगारेपछि अहिले हलेसीमहादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामेरा जडान गरिएको छ । पहिलाको क्यामेरा राखिएको ठाउँमै पुनःतार टाँगेर नयाँ क्यामेरा जडान गरिएको वडाध्यक्ष गिरीको भनाइ छ ।
अध्यारो समयमा पनि प्रष्ट देखिने सीसी क्यामेरा ग्यारेज टोल, ट्राफिक चोक, सालपाचोक, रिठ्ठाबोटे, मन्दिर प्राङगण, डाँडाबजार लगायत मन्दिर परिसरमा जडान गरिएको छ । क्यामेराको कन्ट्रोल रुम अर्थात डेस्टप इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको वडाध्यक्ष गिरीले बताउनुभयो । अहिले चट्याङले नबिगार्ने गरी वारेन्टी र ग्यारेन्टी सहितको क्यामेरा जडान गरिएको उहाँको भनाइ छ ।
धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यसलाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनीको रूपमा र किरात धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा पूजाआजा गर्ने गरेका छन् ।हलेसीमा नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
