Thursday, April 16News That Matters

राज्यले दिएको अधिकार नपाएको खोटाङका ज्येष्ठ नागरिकको गुनासो

गुनासो सुनाउन जिल्ला प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागरिकहरुको साथमा सिडिओ प्रसाइँ

खोटाङ, पुस ४ । राज्यले दिएको अधिकार नपाएको भन्दै खोटाङका ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् । गाडी भाडा, प्लेन भाडा, अस्पताल, बैकं र विद्युत कार्यालय लगायतका ठाउँहरुमा अन्याय भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।

राज्यले दिएको अधिकार सुनिश्चित गर्न माग गर्दै ज्येष्ठ नागरिकहरु सोमबार जिल्ला प्रशासन पुगेका थिए । करीब ३० जनाको संख्यामा प्रशासन पुगेका ज्येष्ठ नागरिकहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाइँ समक्ष गुनासो राखेका छन् । गाडी भाडा र प्लेन भाडामा पाउनु पर्ने ५० प्रतिशत भाडा छुट नपाएको, गाडीमा ज्येष्ठ नागरिकलाई सिट सुरक्षित नगरिएको, अस्पताल, विद्युत कार्यालय र बैंकहरुमा अन्य नागरिकलाई जस्तै लाइनमा लगाइएको ज्येष्ठ नागरिकहरुको गुनासो छ ।

‘सवारी .साधनमा ज्येष्ठ नागरिकलाई खोटाङमा छुट् दिदैनन्, ज्येष्ठ नागरिकको सिटमा बस्न पनि नपाइने अवस्था छ । विभिन्न कार्यालयहरुमा लाइनमा उभिनु परेको सबैको गुनासो छ ।’ ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागरिकहरुको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाइँले देखिएका समस्याको समाधानमा लाग्ने बताउनुभयो । प्रशासन, मालपोत लगायत अन्य सरकारी कार्यलयमा ज्येष्ठ नागरिकहरुलाई लाइनमा नराखिएको बताउदै अन्य ठाउँमा त्यस्तो भए आफुले कुरा गर्ने (सिडिओ) सेडाइँको भनाइ छ ।