
खोटाङ, पुस १२ । कृषि ज्ञान केन्द्र खोटाङमा डिजिटल सोएल टेस्टिङ मिनि ल्याबबाट माटो परिक्षण सुरु गरिएको छ । विश्व माटो दीवसको अवसर पारेर गत मङ्सिर १७ गते डिजिटल सोएल ल्याब स्थापना गरेर कार्यालयले माटो परिक्षण मेसिनबाट गर्न सुरु गरेको हो ।
यस अघि किटबाट माटो परिक्षण हुँदै आएको थियो । किटबाट परिक्षण गर्दा नाइट्रोजन, फसफोरस, पोटास र पिएचको मात्र परिक्षण हुन्थ्यो । माटोमा त्यनीहरुको मात्रा कति छ भन्ने पनि थाहा हुँदैन थियो । अहिले मेसिनबाट परिक्षण गर्दा अर्गानिक कार्बन जिङ्क, सल्फर आइरन, कपर म्याग्नेस र बोरन पनि परिक्षण हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जय कुमार पण्डितले बताउनुभयो ।
पण्डितका अनुसार हाल मेसिनबाट भइरहेको परिक्षणबाट माटोमा कुन कुराको कती कमी र बढी छ भन्ने कुरा थाहा हुन्छ । जसले गर्दा माटोको उपचार गर्न र मलखादको प्रयोग गर्न कृषकलाई सहज भएको उहाँको भनाइ छ । कृषि ज्ञानकेन्द्रले डिजिटल सोएल ल्याब स्थापना गर्नु अघि माटो परिक्षण गर्न खोटाङका कृषक सुनसरीको झुम्का जानुपर्ने बाध्यता थियो ।
हाल ज्ञान केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुको माटो परिक्षण गरिरहेको छ । परिक्षण गरिएका माटोमा अम्लिए र छारिएपन अधिक देखिएको अधिकारी पण्डितले बताउनुभयो ।
