
खोटाङ, पुस १० । रावा बेसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्तहिक हाट सञ्चालनमा आउने भएको छ । नेपालमा कोभिड–१९ फैलिएपछि रोकथामको लागि गरिएको बन्दाबन्दीले बन्द भएको साप्ताहिक हाट पुनः सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ ।
१० पुस २०७७ सालमा सुरु भएको हाट कोरोना फैलिएपछि ३ महिना सञ्चालन भएर बन्द भएको थियो । शुक्रबार गाउँपालिका कार्यालयमा बसेको जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, घरेलु महासंघ, अगुवा कृषक लगायत सरोकार निकायको बैठकले यहि पुस २२ गतेबाट हाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलेकै स्थान र समयमा साप्ताहिकरुपमा हरेक शुक्रबार हरमटारमा बजार (हाट) लाग्ने गाउँपालिकाका कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिनुभयो ।
हटिया अर्थात साप्ताहिक हाट बन्द भएपछि कोरोना संक्रमितहरुलाई राख्न उक्त स्थानमा गाउँपालिकाले क्यारेन्टाइन निर्माण गरेको थियो । क्वारेन्टाइनको लागि निर्माण भएका टहराहरु हटियाका लागि उपयुक्त देखिए प्रयोग गरिने राईले बताउनुभयो ।
गाउँपालिका भित्र उत्पादन भएका कृषि उपजहरुको बजारीकरणका लागि पुनः साप्ताहिक हाट सञ्चालनमा ल्याउने योजना बनाइएको गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले बताउनुभयो ।‘रावा बेसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ । त्यसैले कृषकको सहजताको लागि हाट पुनः सञ्चालनमा ल्याउने तयारी भएको हो ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
हरमटारमा साप्ताहिक हाट सञ्चालन हुँदा प्राय आफ्नै गाउँपालिका भित्रका कृषकहरुले मात्र कृषि उपज ल्याउने भएकाले पालिका भित्र कुन उपज कति उत्पादन भइरहेको थाहाँ हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘गाउँपालिकामा कुन कृषि उपज कति उत्पादन हुँदैछ । यहाँ आयत के–के भइरहेको छ, र निर्यात के कुराहरु गर्न सकिन्छ भनेर थाहाँ हुन्छ । जसले गर्दा गाउँपालिकाले कृषि कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने निचोटमा पुगिन्छ । त्यसपछि सोही अनुसारको कार्यक्रम सञ्चालन गरेर कृषकलाई आत्मनिर्भर बनाउने योजनामा हामी छौँ ।’
हरमटारमा बजार सञ्चालन हुँदा कृषकलाई प्रत्यक्ष फाइदा पुग्नेछ । आफुले उत्पादन गरेका हरेक कृषि उपज घर छेउमै बिक्री हुने कुराले हर्षित बनाएको कृषकहरुको भनाइ छ । गाउँपालिका केन्द्र हरटारमा चिस्यानकेन्द्र पनि निर्माणधिन अवस्थामा छ ।
