
खोटाङ, पुस १० । उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेल आउदै गरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुबाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बुइपा दित्तेल सडक खण्ड अन्तरगत माथिल्लो बुइपामा सडकबाट करीब ५ मिटर बस तल खसेको छ । आइतबार बिहान १०ः४० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला प्रहरी कार्यालय र बुइपा प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्दार गरेको डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा दित्तेल रुपाकोट मझुवागढी न.पा.१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षिय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता ढुंगना र हलेसी तुवाचुङ नगरपालिका–११ का रेनुका भुजेल रहेका छन् ।
घाइतहरुे बिरेन्द्र, दिलकुमारी र रेनुकालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्य घाइतेको स्वास्थ्य चौकि बुइपामा उपचार भइरहेको डिएसपी मुकारुङले बताउनुभयो ।
सह–चालकले बस चलाएका कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस दुर्घटना पश्चात चालक र सह–चालकल फरार भएका छन् ।
