
खोटाङ, पुस १५ । खोटाङमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थीक वर्ष २०७८\०७९ मा भन्दा चालु आर्थीक वर्ष २०७९\०८० मा ३ सय ९४ मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
जिल्लाभर कुल ७ सय ४२ हेक्टर क्षेत्रफलमा कृषकले सुन्तला खेती गर्दै आएका छन् । अघिल्लो वर्ष ३ हजार ३ सय ३१ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर ३ हजार ७ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभयो ।
यो वर्ष राम्रो मौसमसँगै रोग किराले क्षति कम गर्दा जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्ले बराहपोखरी गाउँपालिकाको सुन्तले, जन्तेढुंगा गाउँपालिकाको घोर्ले र दिप्रङ चुइचुम्मा गाउँपालिकाको याम्खा क्षेत्रमा सुन्तला उत्पादन वृद्धि भएको उहाँले बताउनुभयो ।
सुन्तला बिक्री गरेर अघिल्लो वर्ष करीब २ लाख आम्दानी गर्नु भएका घोर्लेका कृषक श्याम राईले यस वर्ष सुन्तला उत्पादन वृद्धि हुँदा करीब ५ लाख रकम आम्दानी गरेको बताउनुभयो । ठेकेदारहरुले बोटबाटै सुन्तला खरिद गरेर लाने गरेका कारण बजारीकरणको चिन्ता नरहेको उहाँको भनाइ छ ।
यस्तै, अर्का कृषक महादेवस्थानका भोलाराज राईको पनि यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । राई आवद्ध सुन्तला पकेट व्यवस्थापन संस्थाले यस वर्ष ३० लाख बढीको आम्दानी गरेको उहाँको भनाइ छ । नजिकै रहेको त्रि–धार्मिक स्थल हलेसी मन्दिरमा देश तथा बिदेशबाट आएका पर्यटकहरुले सुन्तला केजीको ८० देखि १ सय ५० रुपैयाँसम्ममा खरिद गर्नेगरेको राईले बताउनुभयो ।
केही वर्ष अघिसम्म जिल्लाकै सबै भन्दा धेरै सुन्तला उत्पादन हुने जिल्लाको रावा बेसी गाउँपालिका–३ लामिडाँडा क्षेत्रमा भने विभिन्न रोगका कारण सुन्तलाको बोट नै मासिएका छन् ।

