Thursday, April 16News That Matters

नेताको भाषणमा मात्रै आयो हवाईजहाज, लामीडाँडा विमानस्थलमा आएन

लामिडाँडा विमानस्थल

राजकुमार भट्टराई (सरगम)

खोटाङ, पुस १६ । कच्ची हुँदा नियमित उडान भइरहेको खोटाङको लामीडाँडा विमानस्थल स्तरोन्नति पश्चात ६ वर्षदेखि काम बिहिन बनेको छ । खोटाङको सबै भन्दा पुरानो जिल्लावासीको यात्राको एक मात्र माध्यम रहेको विमानस्थलमा अहिले उडान नहुँदा व्यापार व्यवसायसमेत ठप्प भएको छ ।

खोटाङको रावाबेसी गाउँपालिका–३ लामीडाँडामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको थियो । उडान बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको रु ६ करोड ३४ लाख बजेटमा २०७३ सालबाट स्तरोन्नति गर्न सुरु गर्यो । विमानस्थलको काम सम्पन्न पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गर्यो । तर त्यसपश्चात उडान नहुँदा आसपासका व्यापार व्यवसाय ठप्प भएका छन् ।

कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए । तर उनिहरुले सोचे जस्तो नभएपछि अहिले विमानस्थल आसपासका होटल पसलहरु प्राय सबै बन्द भएको छ । कतिपय व्यवसायीहरु अहिले खेतीतर्फ व्यस्त छन भने कतीपय व्यवसायीहरु होटलमा ताल्चा लगाएर अन्यन्त्र गएका छन् । घरका ढोका झ्यालमा धमिरा लागेको छ भने बाटोमा झारपात पलाएको छ । विमानस्थल नजिकै रहेको बैंकसम्म स्थानीय आउछन्, तर होटेल पसलहमा व्यपार छैन्, स्थानीय होटल व्यवसायी जगत थापा मगर बताउनुहुन्छ । विमानस्थल सञ्चालनको लागि कसैले पहल नगरेको उहाँको दुखेसो छ । नेताहरुले ठुला भाषण गर्दै नियमित उडान हुन्छ भने पनि अहिलेसम्म उडान नभएको मगरको भनाइ छ ।

विमानस्थलमा उडान भर्न माग गर्दै दुई पटक मन्त्रालय पुगेर निवेदनसमेत दिएको रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । उडान नहुँदा गाउँपालिवासी धेरैको रोजगारी गुमेको छ । होटल, व्यवसाय, तरकारी तथा फलफुल खेतीमा ठुलो असर परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

हेलिकप्टर र हवाइजहाज गरी एक दिनमा ७२ उडानसम्म भएको जिल्लाको सबै भन्दा पुरानो लामीडाँडा विमानस्थलमा अहिले विमानस्थलको हवाइमार्ग बाहेक अन्य क्षेत्र घाँसेमैदानमा परिणत भएको छ भने कार्यालयमा ताल्चा लगाइएको छ । हप्तामा एक पटक मात्र भएपनि उडान भए बिरामी, सुत्केरी तथा गर्भवती र बृद्धबृद्धालाई यात्रा गर्न सहज हुने स्थानीयको भनाइ छ ।

समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामीडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ । ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको सो विमानस्थलमा ट्वीनटर जहाजहरु उडान–अवतरण गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

परीक्षण उडानको समय के भनेका थिए नेताले ?

विमानस्थल स्तरोन्नतिपछि पहिलो उडानका क्रममा काठमाडौंबाट पुगेका प्राविधिक तथा जहाजका कर्मचारीलाई स्वागत गर्दै खोटाङका संघीय सांसद विशाल भट्टराईले अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकोप्टर मगाउनु पर्ने अवस्थाको अन्त्य हुने बतानुभएको थियो । लामीडाँडा विमानस्थलमा अब नियमित उडान गर्न पहल आफुले गर्ने उहाँको भनाई थियो । खोटाङसहित सोलुखुम्बु र ओखलढुंगाका नागरिकसमेत जहाज चढ्न लामिडाँडा आउने भएकाले नियमित उडान गर्दा वायुसेवा कम्पनीलाई घाटा नहुने भएकाले नियमित उडान हुने भट्टराईको दाबी थियो ।

लामीडाँडा विमानस्थलबाट करीब एक घण्टाको बाटोमा हलेसी मन्दिर पर्छ । तसर्थ खोटाङको पहिचानका रुपमा रहेको हलेसी महादेवको मन्दिरका कारण लामीडाँडा विमानस्थलमा यात्रुको कमी नहुने भएकाले नियमित उडान हुने रावावेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभएको थियो । यसरी जनप्रतिनिधिले बोलिरहदा स्थानीय नागरिक पनि हर्षित भएका थिए । विमानस्थल स्तरोन्नति भएर परीक्षण उडान भएको अहिले ४ वर्ष पुग्न लाग्दा एक पटक पनि उडान नहुँदा नागरिक यतिबेला आक्रोषित भएका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिको पनि भाषण मात्रै हुने होकी ?

यतिबेला वडादेखि संघमासम्म जनप्रतिनिधि फेरिएका छन् । तत्तकालीन समय लामिडाँडाको वडाध्यक्षमा बिदुर खतिवडा, रावा बेसी गाउँपालिकाको अध्यक्षमा लिलानाथ निरौला, प्रदेशसभामा राजन राई र संघमा विशाल भट्टराई हुनुहुन्थ्यो । लामिडाँडा विमानस्थलमा नियमित उडान गराउने भनेर धेरै पटक कार्यक्रमका उहाँहरुले मञ्चहरु गुञ्जाए पनि विमान आएन ।

अहिले जनप्रतिनिधि फेरिएर वडाध्यक्षमा बिरेन्द्र मगर, पालिका अध्यक्षमा फटिक कुमार श्रेष्ठ, प्रदेशसभामा पाँचकर्ण राई र संघमा रामकुमार राई निर्वाचित हुनुभएको छ । उहाँहरुको भाषणमा पनि गुञ्जिन थालेको छ, की लामिडाँडा विमानस्थलमा उडान गराउने पहल गरिनेछ । नयाँ जनप्रतिनिधिको पहल केबल पहलमै सिमित हुनेछ या नियमित उडान हुनेछ, त्यो भने समयले बताउदै जानेछ ।