Friday, April 17News That Matters

अनुप स्मृति गोल्डकपको उपाधि लगातार नेर्पाको पोल्टामा

खोटाङ, पुस २३ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको फाइनल खेलमा आयोजकसमेत रहेको दिक्तेल फुटबल क्लब (डिएफसी) लाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक नेर्पाले उपाधि जितेको हो ।

यस अघि दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरु देखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको थियो । विजेता नेर्पाले २ लाख ५१ हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता (डिएफसी)ले १ लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो ।

सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुंगाले २५÷२५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक (डिएफसी)का सन्दिप लिम्बु, उत्कृष्ट डिफेन्स (डिएफसी) का टेकेन राना मगर, उत्कृष्ट मिडफिल्डर (डिएफसी) का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङ्गेष्ट प्लेअर अफ द टुनामेण्ट दिक्तेलका भुषण ताम्राकार घोषित भएका छन् ।

यस्तै, सर्वाधिक गोलकर्ता नेर्पाका विकि राई, खेल भरीकै उत्कृष्ट खेलाडीकारुपमा (डिएफसी)का मनिष लिम्बु, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिम (डिएफसी) टिमलाई प्रदान गरिएको छ । विद्यागत घोषित हुने खेलाडी, प्रशिक्षक र टिमले नगद पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा पुस १७ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।