Thursday, April 16News That Matters

पिपलडाँडा माविले उचाल्यो उपाधि, सरस्वती मावि दोस्रो हुँदा ज्योति मावि तेस्रो

खोटाङ, माघ २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदकसहित मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

प्रतियोगितामा अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो भएको छ । राजापानीस्थित ज्योति माध्यमिक विद्यालय ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, महेन्द्रोय माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ कास्य पदक हात पार्दा च्यास्मिटार माध्यमिक विद्यालयले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र १ कास्य, बुलापन्थे माध्यमिक विद्यालयले २ स्वर्ण र २ रजत पद हात पारेका छन् । दाम्लि माध्यमिक विद्यालयले १ स्वर्ण, ४ रजत र २ कास्य, लक्ष्मी माध्यमिक विद्यालयले २ रजत र ३ कास्य, जनता माध्यमिक र कालिका माध्यमिक विद्यालयले १ रजत र १ कास्य पदक हात पार्दा मालिका माध्यमिक विद्यालय र हलेश्वर बोर्डिङ स्कुलले कुनै पदक पनि हात पार्न सकेनन् ।

नगरपालिका भित्रका १३ वटा विद्यालयका ४ सय ५६ जना खेलाडी सहभागी प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको थियो । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयलाई ट्रफी र प्रमाणपत्र र विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ लाख दिने गर्छ । तर, भौगोलिक विकटता तथा महंगीका कारण एक लाखले प्रतियोगिता गराउन संम्भव नभएपछि नगरपालिकाले आन्तरिक श्रोतबाट चार लाख व्यवस्थापन गरी पाँच लाखमा प्रतियोगिता सञ्चालन गरेको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । सोही बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउँजाउँ तथा अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ । दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

प्रतियोगिताका स्वर्ण जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेके छैन । नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो ।

विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको मेयर राईले बताउनुभयो । खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीनवर्ष अघि फुटबल र करातेको प्रशिक्षक नियुक्ती गरेको थियो । नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ती गरिएको मेयर राइले बताउनुभयो ।