Friday, April 17News That Matters

अनेरास्ववियु खोटाङले सम्झियो स्वर्गीय मिलन राईलाई


खोटाङ, माघ २७ । अनेरास्ववियु खोटाङका पूर्व अध्यक्ष तथा तत्कालिन केन्द्रीय सदस्य स्वर्गीय मिलन राईको छैटौँ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले खोटाङको पार्टी कार्यालयमा स्वर्गीय राईको फोटोमा माल्यार्पण गरेर दिवस मनाइएको हो ।

छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मारेका स्वर्गीय राईलाई कुशल नेतृत्वको रुपमा विद्यार्थी नेताहरुले सम्झने गरेका छन् । संगठनकै काममा काठमाडौँबाट घर फर्कदा भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा राई गम्भीर घाइते बन्नु भएको थियो । घाइते राईको २०७३ साल माघ २७ गते उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।

अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेलको अध्यक्षतामा भएको माल्यार्पण कार्यक्रममा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार प्रसाद आचार्य, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज राई, नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य दिपक ठटाल र रमेश परियार, जिल्ला सदस्य डिल्लीकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका अध्यक्ष गोपाल आचार्य लगायतको उपस्थिति रहेको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले जानकारी दिनुभयो ।

स्वर्गीय राईको स्मृतिमा प्रतिष्ठानसमेत निर्माण गरिएको छ । प्रतिष्ठानको भवन स्वर्गीय राईको घर नजिक रावा बेसी गाउँपालिका–३ लामिडाँडा चिउरीबासमा निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानको भवन र संघीय सरकारको सहयोगमा पार्क निर्माण गरिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य खेमराज राईले बताउनुभयो । प्रतिष्ठानको भवनमा आज साँझ स्वर्गीय राईको सम्झनामा दिप प्रज्वलन गरिने उहाँको भनाइ छ ।

प्रतिष्ठानले राईको स्मृतिमा वर्षेनी कार्यक्रम तथा सामाजिक गतिविधि गर्दै आएको छ । यसअघि राईको स्मृतिमा प्रतिष्ठानले पुस्तकसमेत प्रकाशन गरेको थियो । शिक्षा क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई पुरस्कार प्रदान गर्ने गरी प्रतिष्ठानले अक्षय कोष निर्माण गर्ने तयारी गरिरहेको छ । हालसम्म पाँच लाख बढी रकम संकलन भइसकेको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य राईले बताउनुभयो ।