Friday, April 17News That Matters

डिपिआर निर्माणमा गाउँपालिकाको लापर्बाहीले १० शैयाको अस्पताल अलपत्र

अस्पताल शिलान्यास गर्दै तत्कालिन संघीय सांसद भट्टराई र गाउँपालिका अध्यक्ष निरौला साथमा निर्माणाधिन अलपत्र भवन

राजकुमार भट्टराई (सरगम)

खोटाङ, माघ २६ । खोटाङको रावा बेसी गाउँपालिकाले डिपिआर निर्माणमा लापर्बाही गर्दा १० शैयाको अस्पताल अलपत्र परेको छ । गाउँपालिका–२ खार्पामा निर्माणधिन रहेको अस्पताल भवनको डिपिआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत नगरेपछि निर्माणको काम अघि बढ्न नसकेको हो ।

प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार १० शैयाको अस्पताल निर्माण गर्न सरकारले रावा बेसी गाउँपालिकालाई भवनको नक्सा पठाएको थियो । ०७७ मङ्सिर १५ गते स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्नेगरी तत्कालिन संघीय सांसद विशाल भट्टराई र तत्कालिन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले भवनको शिलान्यास गर्नुभएको थियो ।

७ करोड ५७ लाख ५१ हजार ६ सय २ रुपैयाँ ८७ पैसा (भ्याट सहित) मा ३७ महिनामा काम सक्ने गरी ०७८ असार २१ गते महादेव खिम्ती अन्जान रुजन जे.भिले भवन निर्माणको सम्झौता गरेको छ । सम्झौता गरेको केही महिना पछि भवन निर्माण सुरु गरेर करीब २० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि धुर्ब श्रेष्ठले बताउनुभयो । भवनको वाल निकाल्ने, फाउण्डेसन तयार गर्ने, रड राख्ने र आवश्यक गिटि, बालुवा तयार पार्ने काम भइसकेको छ । रु ९० लाख भुक्तानी पनि कम्पनीले लिइसकेको छ । तर गाउँपालिकाले निर्माण गरेको गलत भएको भन्दै मन्त्रालयले डिपिआर परिवर्तन गर्न लगाएपछि गत जेठदेखि भवन निर्माणको काम स्थगीत छ । नयाँ डिपिआर स्वीकृत भएर आउने बित्तिकै काम सुरु गर्ने कम्पनीका प्रतिनिधि श्रेष्ठको भनाइ छ ।

स्रोतका अनुसार अस्पतालको डिपिआरमा गाउँपालिकाले लापर्बाही गरेको पाइएको छ । सुरुमा वडा नम्बर १ कुभिण्डेमा अस्पताल निर्माण गर्न डिपिआर तयार गरेको गाउँपालिकाले अन्तीममा वडा नम्बर २ खार्पामा लगेर भवन शिलान्यास गरेको पाइएको हो । प्लाटफम इन्जिनियरिङ कन्सलटेन्सीले करीब ४ दिनमै डिपिआर तयार गरेको थियो । ताकी उक्त अस्पतालको डिपिआर गर्न कम्तीमा एक महिना लाग्ने जानकारहरु बताउछन् । डिपिआर नै अन्य ठाउँको कपी गरेको एक स्रोतको भनाइ छ ।

डिपिआरमा शव गृह र अस्पतालको फोहोर व्यवस्थापन गर्ने क्षेत्रको लागि ठाउँ नछुट्टइएको, एम्बुलेन्स घुमाइ पार्किङमा आउनको लागि प्रयाप्त ठाउँ नछुट्टइएको, ओपिडि अस्पतालको अगाडि हुनु पर्नेमा माथिल्लो तलामा राखिएकाले परिवर्तन गर्न मन्त्रालयले गाउँपालिकालाई परिपत्र गरेपछि भवन निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकामा कार्यरत इन्जिनियर उमेश भट्टराईले बताउनुभयो ।

डिपिआर परिवर्तन गरी भवन निर्माणका लागि पहल गर्न केही दिन अघि वर्तमान गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रुमख प्रशासकीय अधिकृत दिनेश राई, स्वयं इन्जिनियर भट्टराई लगायतको समुह काठमाडौं गएको थियो । तर अस्पताल निर्माण भइरहेको जग्गा सानो भएकाले ओपिडि माथिल्लै तलामा राखेर मन्त्रालयले मागे अनुसार डिपिआर परिवर्तन गरेर बुझाएको इन्जिनियर भट्टराईको भनाइ छ । डिपिआर स्वीकृत भएर आउन केही समय लाग्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकी खार्पालाई १० शैयाको अस्पतालमा रुपान्तरण गर्ने गरी भवन निर्माणको काम सुरु गरिएपनि डिपिआरमा कुन स्वास्थ्य चौकीलाई रुपान्तरण गर्ने भनेर उल्लेखसम्म नभएको पाइएको छ ।

यदि सुरुमै डिपिआरमा त्रुटी नगरिएको भए अहिले भवन निर्माणले गति लिइरहने थियो । तर डिपिआरमा त्रुटी हुँदा अब कहिलेबाट भवन निर्माण अघि बढ्ने हो भन्ने यकिन हुन सकेको छैन् ।