
खोटाङ, २५ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित) मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु गरिएको हो । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ जेठमा सम्झौता गरिएको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका क्रममा विवाद निस्किएको हो । वडामा पार्टीलाई पुग्ने लाभ र हानीको हिसाव किताव गर्न थालिएका कारण लिफ्टिङ खानेपानी योजनामा बखेडा निस्किएको हो । साप्सु खोला लिफ्टिङ खानेपानी योजना ठेक्का प्रकृयाबाट सञ्चालन भइरहेको छ ।
एमाले वडा कमिटि अध्यक्ष एबं वडासदस्य युवबहादुर कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाकोतर्फबाट प्रेम खनालले संयुक्त विज्ञाप्ती जारी गर्दै सरोज राई अध्यक्ष रहेको लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुःर्नगठनको माग गरेका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले अन्य सदस्यलाई बेवास्ता गर्दै एकलौटी काम गरेको, प्रकृयागत रुपमा काम नभएको, उपभोक्तालाई हानीनोक्सानी हुने काम गरिएको भन्दै वर्तमान समितिलाई खारेज गर्दै सर्वपक्षीय समिति पुःर्नगठनको माग गर्नुपरेको विज्ञाप्तीमा उल्लेख छ । आयोजनाका विषयमा समझदारी कायम नभए क्षती वडाका नागरिकलाई पुग्ने छ ।
लिफ्टिङ खानेपानी आयोजनाका लागि पुर्ववडाध्यक्ष बिरेन्द्र ढकालले उपभोक्ता समिति गठन गरेका थिए । तर सो उपभोक्ता समिति ‘पकेट’को बनाइएको भन्दै नवनिर्वाचित वडाध्यक्ष रामबहादुर कट्वालले अर्को उपभोक्ता समिति गठन गरेका थिए । नौ सदस्यीय उपोक्ता समितिका अध्यक्ष राई कांग्रेस समर्थक हुन् । उपाध्यक्ष रमेश सुयाँल एमालेका, सचिव अनुज राई माओवादी केन्द्र र कोषाध्यक्ष कांग्रेस समर्थक हुन् । तर उपाध्यक्ष सुयाल पार्टीगत नभै व्यक्तिगत रुपमा समितिमा बसेको एमाले वडा कमिटि अध्यक्ष एबं वडासदस्य कार्की बताउँछन् । वडाध्यक्ष कट्वालले असहमतीकाबिच पेलेर उपभोक्ता समिति गठन गरेको र हाल कतिपय सदस्यको स्थान रिक्त भइसकेकाले समिति पुःर्नगठनको माग राखिएको कार्कीले बताए । ‘हाम्रो असहमतीबिचमा उपभोक्ता समिति गठन गरिएको थियो । अहिले समितिको तौरतरिका राम्रो भएन । स्टीमेट अनुसार काम गरौं । गुणस्तरको काम गरौंभन्दा मानेन,’ कार्कीले भने, ‘हामी विकास बिरोधी होइनौं । समिति विघटन गरेर सबै टोललाई समेटेर पुःर्नगठन गरौं भन्ने हाम्रो माग हो ।’
माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खनालले उपभोक्ता समिति अध्यक्षबाट मनोमानी भएकाले विरोध गर्नुपरेको बताउँछन् । लिफ्टिङ खानेपानी योजनाको काम गुणस्तरिय नभएको, ज्यालादारी मजदुरलाई रेटभन्दा कम ज्याला दिएको, आफुखुसी कर्मचारी राखेको पोखरेलको दावी छ । नितीसम्मत काम नभएको, गुणस्तरको काम नभएको, समिति अपुर्ण रहेकाले आवाज उठाउनु परेको सरोकारवाला प्रेम खनालले बताए ।
लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष राईले भने द्रुत गतिमा अघि बढेको आयोजनालाई ‘डिस्चर्व’ गरेर असफल बनाउने प्रयात्न गरिएको बताउँछन् । ‘पेलेर लान सकिन्छ की भनेर ‘डिस्चर्व’ गर्न खोजेको हो,’ अध्यक्ष राईले भने, ‘कतिपयले समितिसँग कमिसनको अपेक्षा राखेको पाइएको छ । आगामी बैसाखसम्मका पानी निकाल्नेगरी काम भइरहेको छ ।’ वडाध्यक्ष कट्वालले १०७ जनाको उपस्थितिमा भएको भेलाले गठन गरिएको उपभोक्ता समिति पुःर्नगठन हुन नसक्ने बताए ।
केन्द्रमा माओवादी र एमालेको सत्ता समिकरण भएसँगै वडामा पनि एमाले र माओवादी एकतिर बनेर आयोजनामा अवरोध खडा गर्न खोजिएको कांग्रेसका युवा नेता किसन भुजेल बताउँछन् । यद्यपी, विरोधमा देखिएका प्रेम खनाल भने कांग्रेसकै नेता हुन् ।
