Friday, April 17News That Matters

हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, माघ २५। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो संस्करणको अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको ३ नम्बर वडा च्यास्मिटारको खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक÷एक र छात्राछात्र कबड्डीमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ लाख दिने गर्छ । तर, भौगोलिक विकटता तथा महंगीका कारण एक लाखले प्रतियोगिता गराउन संम्भव नभएपछि नगरपालिकाले आन्तरिक श्रोतबाट चार लाख व्यवस्थापन गरी पाँच लाखमा प्रतियोगिता गराउन लागेको हो । सोही बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउँजाउँ तथा अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ । दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । प्रतियोगिता २७ माघमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताका स्वर्ण जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेके छैन । नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो ।

मेयर बिमला राईको अध्यक्षतामा भएको नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य वजिमय, उपमेयर रमेशकुमार राउत, दुर्छिम र सल्ले बाहेक १० वडाका वडाध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, राजनीतिक दल, सहभागी १२ वटा सामुदायिक मावि र एक नीजि माविका प्रधानाध्यापक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिती थियो ।

विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको मेयर राईले बताउनुभयो । खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीनवर्ष अघि फुटबल र करातेको प्रशिक्षक नियुक्ती गरेको थियो । नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ती गरिएको मेयर राइले बताउनुभयो ।