Friday, April 17News That Matters

मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा


खोटाङ, माघ २५ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा हुलाकीस्थित कालिका आधारभुत विद्यलाय वि.स. २०२७ सालमा स्थापना भएदेखि अहिलेसम्म एउटै भवनमा सिमित छ । विद्यालय छेउका घरका ब्यक्तिहरु मन्त्री भए सचिव भए तर विद्यालयमा कसैको नजर गएन ।

विद्यालय स्थापना कालमा जन्मिएका मानिसहरु बृद्ध अवस्थामा पुगिसके । तर विद्यालयको भवनले भने अहिले पनि युवा नै हुनु परेको छ । ०२७ सालदेखि उक्त भवन भित्र बसेर विद्यार्थीहरुले आफ्नो भविष्य निर्माण गरिरहेका छन् । विद्यालय छेउका मानिसहरु नेपाल सरकारको शिक्षा मन्त्री र सचिवसम्म भएका छन् । तर विद्यालयको भवनले त्यनै ब्यक्तिहरुलाई कुरीकुरी गरिरहेको छ ।

नेकपा माओवादीका नेता तथा नेपाल सरकारका पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, गृह सचिव पदम पोखरेल र सरकारका सचिव देवराज पोखरेलको घर कालिका आधारभुत विद्यालय नजिकै छ । गृह सचिव भइसक्नु भएका पोखरेलले अध्ययनसमेत सोही विद्यालयमा गर्नुभएको पारीवारिक स्रोतले जनाएको छ । देशको ठुलो उहोदामा पुग्नुभएका तीन जनाकै घर अहिलेपनि विद्यालय नजिकै छ । तर विद्यालयमा उहाँहरुको नजर कहिले पर्न नसकेको स्थानीय बताउछन् ।

कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको विद्यालयमा अहिले २२ जना विद्यार्थी छन् । हाल १ कार्यालय सहयोगि र २ शिक्षक उक्त विद्यालयमा कार्यरत छन् । १ शिक्षकको दरबन्दी भने यस अघिको स्थानीय सरकारले काटेर अन्य विद्यालयमा लगेको प्रधानाध्यापक चेतनाथ पोखरेलले बताउनुभयो । पुरानो भएकाले विद्यालयको भवन जीर्ण हुँदा र कक्षा कोठा साना हुँदा पठनपाठनमा असहज भएको उहाँको भनाइ छ । विद्यालयको भवन निर्माणका लागि ०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्णयले जिल्ला विकास समिति एवं जिल्ला शिक्षा कार्यालयमा माग गरेको उहाँले बताउनुभयो । त्यसपछि मौखिक रुपमा भवन निर्माणको माग गरेको बताएपनि लिखित भने गरेको पाइएको छैन् ।

भौगोलिक रुपले विकट रहेकाले विद्यार्थी संख्या न्युन भएपछि विद्यालय मर्च गर्ने योजनासमेत बनाइएको खार्पाका पूर्व वडाध्यक्ष कालिदास पोखरेलले बताउनुभयो । उक्त स्थानका विद्यार्थीलाई नजिकै रहेको शारादा माध्यमिक विद्यालयमा आउन जानको लागि विद्यालय बसको व्यवस्थापन गरेर विद्यालय मर्च गर्ने छलफल पनि भएको उहाँको भनाइ छ । तर केही अभिभाबकको गुनासो र उक्त भवनलाई कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने निचोड नहुँदा विद्यालय मर्च स्थगित भएको थियो ।

पुरानो भवनलाई मर्मत (कक्षा कोठा ढलानसहित), शौचालय निर्माण र खानेपानीको व्यवस्थापन स्थानीय सरकारले गरेको पूर्व वडाध्यक्ष पोखरेलको भनाइ छ । तर हरेक वर्ष विद्यार्थी घट्दै गएकाले विद्यालय नै त्यहाँ रहने की नरहने भन्ने कुराले नयाँ भवन निर्माणमा अन्योलता सृजना भएको उहाँको भनाइ छ ।