Thursday, April 16News That Matters

खोटाङमा प्रहरीसँग हात हालाहाल हुँदा एक किशोर घाईते

सांकेतिक तस्विर

खोटाङ, फागुन १ । खोटाङमा प्रहरीसँग हात हालाहाल हुँदा एक किशोर घाईते भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान सागर राई र सोही ठाउँका १४ वर्षीय अशोक दाहालबीच हात हालाहालहुँदा दाहाल घाईते भएका हुन् ।

सामान्य विषयमा विवाद हुँदा राई र दाहालबीच सोमबार बिहान करीब ९ बजे हात हालाहाल भएको थियो । दाहालले हात हालेपछि प्रहरी जवान राईले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आफुमाथि कुटपिट भएको भन्दै दाहाल पुःन हतियारसहित प्रहरीमाथि जाइलागेपछि उनीमाथि थप कुटपिट भएको थियो । दाहालमाथि प्रहरी हवल्दार प्रभुराम बास्तोलाले पनि कुटपिट गरेको आमा मुना दाहालले दावी गरिन् ।

केही समयअघि एपेन्डिसाइटको अप्रेसन गरेका दाहालको निरन्तर पेट दुखेपछि एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लगिएको छ । कुटपिटमा संलग्न प्रहरी जवान राईलाई छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको डिएसपी मञ्जिल मुकारुङले बताए ।