
खोटाङ, फागुन २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं जिल्ला सदरमुकाम दिक्तेलमा निःशूल्क आँखा शिविर सुरु भएको छ । जिल्ला आयुर्वेद अस्पतालको भवनमा तीन दिनसम्म सञ्चालन हुने शिविरको मंगलबार उद्घाटन गरिएको हो ।
नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वि.पि कोइराला लाईन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा शिविर सुरु भएको हो । दिक्तेलका ८४ वर्षीया बिष्णुमाया आचार्यको आँखा परिक्षण गरेर शिविरको सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाका जन स्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । कम्तीमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया गरिने उहाँको भनाइ छ ।
शिविरका सञ्चालनका लागि सह–प्राध्यापक डाक्टर रन्जु खरेल सिटौलाको नेतृत्वमा १३ जनाको समुह दिक्तेल आएको छ । शिविरमा आवश्यकता अनुसार मोतिविन्दुको शल्यक्रिया, औषधि निःशूल्क वितरण हुनेछ । हेल्पिङ हेन्डको सहयोगमा नेत्र ज्योति संघले ६० वर्ष माथीका ज्येष्ठ नागरिकलाई ५०० चस्मा निःशूल्क वितरण गरिने जनाइएको छ । शिविरमा नाम दर्ताका लागि रु २० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।
शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार गर्न सहयोग गरिने शिविरका इन्चार्ज रमेश प्रधानले बताउनुभयो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आँखा शिविर सम्पन्न पश्चात अन्य रोगहरुको पनि शिविर एवं उपचार गर्ने योजना बनाएको मेयर तीर्थराज भट्टराईको भनाइ छ । जिल्लाका सबै नागरिकको मृगौला परिक्षण गर्ने गरी कार्यक्रम ल्याउन लागिएको उहाँले बताउनुभयो । जसकालागि देशकै वरिष्ठ मृगौला चिकित्सक ल्याएर कार्यक्रमको उद्घाटन गर्ने तयारी रहेको छ । साथै मुटु सम्बन्धि पनि उपचार शिविर सञ्चालन गर्ने तयारी नगरपालिकाको रहेको उहाँको भनाइ छ ।
मंगलबार बिहान भएको शिविर उद्घाटन कार्यक्रममा जिल्ला समन्य प्रमुख सन बहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेँडाइ, नेपाली कांग्रेसका सचिव तथा जिल्ला रेडक्रस सभापति ज्ञानेन्द्र जोसी, नेकपा एमालेका सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।
