Thursday, April 16News That Matters

राष्ट्रपति जो भए पनि गठबन्धन टुट्दैन् : सांसद पासाङ


खोटाङ, फागुन ४ । नेकपा माओवादी केन्द्रका नेता तथा खोटाङ प्रतिनिधि सभाका सांसद रामकुमार राई (पासाङ) ले राष्ट्रपति जो भए पनि गठबन्धन नटुट्ने बताउनुभएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनले सत्ता गठबन्धनप्रति आशंका उत्पन्न भइरहेको बेला सांसद राईले यस्तो बताउनुभएको हो ।

बिहिबार खोटाङ सदरमुकाम दिक्तेलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै राईले भन्न्ुभयो, ‘राजनीतिमा भएको पछिल्लो समिकरण राष्ट्रपतिको चुनावमा टुट्दैन । किन भने यो समिकिरण जे थियो राष्ट्रपतिको चुनावले छेदविछेद हुँदैन । राष्ट्रपति राष्ट्रि सहमतिमै हुन्छ, तर गठबन्धनको एउटा आधार तयार भइसकेको छ, अब त्यति सजिलै अर्को सरकार बन्दैन् । केही दलहरु सरकारबाट बाहिरीने भित्रीने चलिरहन्छ यो संविधान अनुसार नै हो यसलाई सत्ताको खेल भन्न मिल्दैन् ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)लाई बचाउ गर्दै प्रधानमन्त्रीको खेलमा प्रचण्ड नरहेको सांसद राईले जिकिर गर्नुभयो । ०६२/६३ को जनआन्दोलन पश्चात नेपालमा जती प्रधानमन्त्री भए प्राय सबैलाई प्रचण्डले प्रधानमन्त्रीमा प्रस्ताव गरेर भएका कारण प्रचण्ड उक्त खेलमा नरहेको सांसद राईको भनाइ छ । यस्तै राप्रपालाई संकेत गर्दै सत्ता गठबन्धनमा सामेल भएर राजा ल्याउछु, नेपाललाई हिन्दु राष्ट्र कायम गर्छु भन्नेहरु संविधान विपरीत रहेको उहाँले बताउनुभयो । सत्तामा बसेपछि संविधान अनुसार चल्नु पर्ने भन्दै राजतन्त्र ल्याउने भए सरकार बाहिर गएर जनताको मन जितेर आउन सांसद राईको चेतावनी छ ।

यसैबिच, पत्रकार भेटघाट कार्यक्रममा बौल्दै सांसद राईले खोटाङको विकासका लागि सबै राजनीतिक दल एक भएर जानुको विकल्प नरहेको बताउनुभएको छ । ‘चुनावमा हाम्रो बैचारिक विविधता हुनुसक्छ, तर जिल्लाको विकासका लागि एक ठिक्का भएर हामी अघि बढ्नु छ । त्यसैले सम्पुर्ण राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि सकारात्मक ढंगले अघि बढ्नु पर्यो । मैले यहि आशा राखेको छु ।’ सांसद राईले भन्नुभयो ।

यस्तै, जिल्लामा सुरु भएर सम्पन्न नभएका विकास निमार्णका कामहरु चाडै सम्पन्न गर्ने आफ्नो पहिलो प्रथमिकता रहेको राईले सुनाउनुभयो । धेरै योजनाहरु अलपत्र रहेको, टेण्डरको प्रक्रियामा रहेकाले त्यस्ता योजना समयमै सम्पन्न गर्ने गरी लाग्ने उहाँको भनाइ छ ।