Thursday, April 16News That Matters

खोटाङ : बनमा लागेको डढेलोले दुई घर र चौपाया जल्यो, १० लाख बराबरको क्षति


खोटाङ, फागुन ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुईवटा घर र एकवटा गोठ जलेर नष्ट भएको छ । । बनमा लागेको डढेलोले घर र गोठ जल्दा १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बुधबार दिउँसो साढे दुई बजे दुर्छिमको आमकासुकसे सामुदायिक बनमा लागेको आगो अचानक हावाले उडाई ल्याउँदा बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तलाको दुई वटा घर र काठले बनेको गाईबस्तु राख्ने एउटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगोले दुईवटा घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद १ लाख, सुन ४ तोला, चाँदी २ तोला र गोठमा रहेको गाईको बाछी १ वटा तथा १ वटा बाख्रा पूर्णरुपमा जलेको छ ।

आगोलाई स्थानीय र प्रहरीले साँझ ६ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।