Thursday, April 16News That Matters

खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण


खोटाङ, फागुन ४ । खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगत स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल खोटाङमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारासहित प्रदेश एकका १४ वटै जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय स्वास्थ्य प्राप्त रहेको बताइएको छ । कार्यक्रमको जिल्ला स्तरीय समितिको संयोजक जिल्ला समन्वय समितिका प्रमुख र सदस्य सचिव आयुर्वेद अस्पतालका प्रमुख रहने व्यवस्था छ । सोही अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईको अध्यक्षतामा बिहिबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्री नगरपालिकाका विभिन्न वडामा कार्यरत स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अभिमुखिकरण गर्दै प्रदेश एक स्वास्थ्य मन्त्रालयका चिकित्सक रविन्द्र निरौलाले आयुर्वेदिक खाना सेवन, नियमित योग, ध्यान र सकारात्मक जीवनशैलिले गुणस्तरीय स्वास्थ्य प्राप्त हुने बताउनुभयो ।

सबै उमेर, वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनु पर्ने उपायहरुको बारेमा छलफल चलाउने, स्थानीय स्तरमा पाइने जडिबुटीको बारेमा ज्ञान दिने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ को बोध गराउने लगायतका काम यस कार्यक्रमले गर्ने चिकित्सक निरौलाले बताउनुभयो । यस्तै नियमित व्यायाम तथा योगाभ्यास, नसर्ने रोगको नियमित स्वास्थ्य परिक्षण गराउने सचेतना पनि नागरिकलाई माझ पु¥याउने कार्यक्रमको उदेश्य रहेको उहाँको भनाइ छ ।

हाल जिल्ला स्तरसम्म मात्र रहेको नागरिक आरोग्य कार्यक्रम अब पालिकाहुँदै वडासम्म पु¥याउने तयारी गरिएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डाक्टर उमेश कुमार मेहेताले बताउनुभयो । नगरपालिकाका मेयर तथा पालिकाका अध्यक्ष संयोजक रहने गरी पालिकाको समिति र वडाध्यक्ष संयोजक रहने गरी वडा स्तरको समिति निर्माण गर्न अब जिल्ला समिति लाग्ने उहाँको भनाइ छ ।

यस कार्यक्रलाई लागू गर्दै हरेक नागरिकले आफ्नो जीवनशैलि परिवर्तन गरेर गुणस्तरीय स्वास्थ्य अपनाउन आवश्यक रहेको भन्दै उपस्थित सबैले प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।