Sunday, September 13News That Matters

दिक्तेलमा १०३ वर्षका वृद्धसहित ६४ जनाको मोतिविन्दुको शल्यक्रिया


खोटाङ, फागुन ४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा ११ सय बढीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद अस्पतालमा मंगलबारदेखि बिहिबारसम्म तीन दिनसम्म सञ्चालन भएको शिविरमा ११ सय ३७ जनाले आँखा परिक्षण गराएको नगरपालिकाले जनाएको छ ।

शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको छ । १ सय ३ वर्षका बृद्धदेखि दुवै गोडा नभएका अपांगता भएका ब्यक्तिसम्मको शिविरमा शल्यक्रिया गरिएको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो । जिल्ला अस्पताल चोक निवासी १ सय ३ वर्षिय खड्ग बहादुर राउतको सफलता पूर्वक सम्पन्न भएको छ । जन्मजातै अपांगता भएका (दुवै गोडा) नभएका रावा बेसी गाउँपालिका–६ हौँचुरका ६० वर्षिय पुर्ण गुरुङको पनि आँखाको मोतिविन्दुको शल्याक्रिया गरिएको छ ।
शिविरमा ९ जनाको टेरिजिएम शल्यक्रिया, ३ जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । सोही शिविरमा हेल्पिङ हेण्ड अस्पताल काठमाण्डौको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत ४०० जनालाई निःशुल्क चश्मा वितरण गरिको जनाइएको छ ।

१ सय ३ वर्षिय खड्ग बहादुर राउत

यस्तै, नगरपालिकाको आग्रहमा सोल्मामा अवस्थित शुभद्रा मदन फाउण्डेसनमा प्राध्यापक डाक्टर आनन्द कुमार शर्माको नेतृत्वमा शिक्षण सहायक हिरानाथ दाहाल लगायतको टोलिले फाउण्डेशनमा नै पुगेर ९३ जना विद्यार्धी तथा कर्मचारीको आँखा परिक्षण एवंम् परामर्श सेवा प्रदान गरिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्जका सह–प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाको नेतृत्वमा १३ जना चिकित्सकको टोली आँखा जाँच तथा शल्यक्रिया गरेका थिए । आँखामा गम्भिर समस्या भई अन्य सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन नसक्नु भएका जिल्लावासीको सेवाका लागि शिविर आयोजना गरिएको मेयर भट्टराईले बताउनुभयो । आँखा शिविर सम्पन्न पश्चात अब नगरपालिकाले मुटु र मृगौला सम्बन्धि शिविरको तयारी गरेको उहाँको भनाइ छ ।