Thursday, April 16News That Matters

विद्यालयमा राजनीतिकरण : व्यवस्थापन समितिमा पार्टीगत चुनाव हुँदा एमाले विजयी

विजयी उम्मेद्वार र प्राप्त मत

खोटाङ, फागुन ५ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित शारदा माध्यमिक विद्यालयमा राजनीतिकरण भएको छ । विद्यालयको व्यवस्थापन समितिमा राजनीतिक दलको आधारमा चुनाव भएको छ ।

विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै गत माघ २७ गते नयाँ समिति गठनका लागि विद्यालयले अभिभाबकलाई पत्र काटेर बोलाएको थियो । तर नयाँ समिति गठनमा राजनीतिकरण हुँदा सर्वसम्मत समिति गठन हुन सकेन् । २७ गतेको अभिभाबकको भेलामा करीब २५ जनाले समितिमा बस्न आकांक्षा ब्यक्त गरेको प्रधानाध्यापक हर्क बहादुर कार्कीले बताउनुभयो । आकांक्षीहरु धेरै भएपछि सर्वसम्मतका लागि धेरै पटक छलफल गर्दा पनि सहमति हुन नसकेको उहाँको भनाइ छ ।

केही ब्यक्तिले नाम फिर्ता लिए पनि समितिमा आवश्यक भन्दा धेरै आकांक्षी पछि नहटेपछि शुक्रबार चुनाव भएको छ । २ महिला र २ पुरुष सदस्यका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । पटक पटकको छलफलमा सहमति नजुटेपछि अन्तत राजनीतिक दलका आधारमा उम्मेद्वार दर्ता गराएर चुनाव भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी निकट उम्मेद्वारहरुलाई पराजित गर्दै नेकपा एमाले निकट विजयी भएका छन् । 

पुर्व वडाध्यक्षसमेत रहेका यज्ञ नारायण श्रेष्ठ ७७ मत, वीर बहादुर रोक्का ७० मत, खड्ग कुमारी बरुवाल ७७ मत र मन कुमारी श्रेष्ठ ८४ मत ल्याएर विजयी भए । सुरेन्द्र राई ६६ मत, हरी राई ६३ मत, डोमु शेर्पा (राई) ६५ मत र विष्णु कुमारी बस्नेत (खड्का) ६५ मतसहित पराजित भएका छन् । जम्मा १ सय ४८ जना अभिभाबकले मत हाल्दा १० मत बदर भएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिमा ९ जना रहने व्यवस्था छ । ४ जना चुनावबाट चुनिएका छन् भने प्रधानाध्यापक सदस्य सचिव र वडाध्यक्ष चिरञ्जीवि कार्की स्वतः पदेन सदस्य रहने व्यवस्था छ । निमर्ला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनोट गरिएको छ । उत्त ७ जनाको बैठकले अब २ जना सदस्यलाई मनोनित गरेपछि ९ जना मध्येबाट एक जना अध्यक्ष हुने प्रधानाध्यापक कार्कीले बताउनुभयो ।