Thursday, April 16News That Matters

२ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुँदै


खोटाङ, फागुन ५ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा २ लाख ५५ हजार पुरस्कार राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । आगामि वैशाख २ गतेदेखी ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकप जन्तेढुंगा गाउँपालिकाका–५ खर्क खेलमैदानमा आयोजना हुने गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको प्रथम हुने टिमले रु २ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । दोश्रो हुने टिमले १ लाख ५५ हजार ५ सय नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विद्यातर्फ बेष्ट स्टाइकरलाई, बेष्ट गोल्डकिपर, बेष्ट डिफेण्डरलाई नगद रु १० हजार र म्यान अफ द म्याचलाई नगद रु ५ हजार प्रदान गरिनेछ । खेल क्षेत्रको प्रवद्र्धन र विकासका साथै खेलाडीहरुको क्षमतामा टेवा पुर्याउने उद्वेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

गोल्डकपमा अनुमानित ३० लाख भन्दा माथिको लागत रहने बताइएको छ । खेलाडीहरुका लागि खाना, बासलगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रकृया सुरु गरिने जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताउनुभयो । फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समितिसमेत एन्फामा दर्ता गर्ने प्रकृया पनि अगाडि बढाइने राईको भनाई छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणा देवी राई र उपाध्यक्ष खेम बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।