
खोटाङ, फागुन ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को पुस ३० गतेसम्म २८ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले शनिबार अर्ध वार्षिक सार्वजनिक सुनुवाइ गर्दै पुस मसान्तसम्म २८ दशमलव ७४ प्रतिशत मात्र बजेट खर्च भएको जनाकारी दिएको छ ।
नगरपालिकाले विनियोजन गरेको रु ६९ करोड ५५ लाख ४४ हजार ५० रुपैयाँमा अर्ध वार्षिक अर्थात पुस मसान्तसम्म रु १९ करोड ९९ लाख ३२ हजार ८ सय ३६ रुपैयाँ २९ पैसा खर्च भएको विवरण नगरपालिकाले सार्वजनिक सुनुवाइमा प्रस्तुत गरेको हो । नगरपालिकामा हालसम्म भएको काम र बजेट खर्चको विषयमा सबै शाखागत प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकामा भएका कामहरु सबैलाई जानकारी गराउन त्यसको पारदर्शिताका लागि नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको उपमेयर रमेशकुमार राउतले बताउनुभयो । अर्ध वार्षिक रुपमा वा वर्षमा एक पटक स्थानीय तहले सार्वजनिक सुनुवाइ गर्नै पर्ने कानुनी व्यवस्था भएपनि जिल्लाका अन्य ९ वटा पालिकाले भने सार्वजनिक सुनुवाइ हालसम्म गरेका छैनन् ।
हलेसी तुवाचुङ नगरपालिकामा शनिबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिहरुले नगरपालिकाकै शिक्षा नीति विपरित केही माध्यमिक विद्यालयमा आधारभुत तहका स्थायी शिक्षक प्रधानाध्यापक भएको, विद्यालय व्यवस्थापन समितिले पुर्णता नपाएको, नगरपालिकामा पटक पटक प्रमुख प्रशासकीय अधिकृत फेरिएको, बृहत पम्पिङ खानेपानी आयोजना समयमा सम्पन्न नभएको, जयराम–हलेसी सडकखण्ड मर्मत हुन नसकेको, राजापानीस्थित सडकको ट्रयाक खोल्दा पुरिएको सिँचाई कुलो मर्मत नभएको लगायतका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरपालिकाका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले आवश्यकता अनुसार माध्यमिक दरवन्दी शिक्षक नभएका कारण आधारभुत तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाएको बताउनुभएको छ । यस्तै विद्यालय व्यवस्थापन समितिमा प्राय सबैमा गठन भएको र प्रश्नमा उठेको अर्खौलेस्थित एक विद्यालयमा पनि पुर्णता दिन नगरपालिकाले पत्र पठाइसकेको उहँकाो भनाइ छ ।
यस्तै, अन्य प्रश्नहरुको जवाफ दिदै मेयर विमला राईले प्रमुख प्रशासकीय अधिकृतहरु फेरिरहने नेपालको सबै नगरपालिकाको पीडा रहेको बताउनुभएको छ । नेपाल सरकारको नीति अनुसार नगरपालिकाको प्रमुख प्रशासकीय अधिृत उप–सचिव रहने व्यवस्था भएपनि उप–सचिवहरु मन्त्रालयमै घाम तापेर बस्ने तर नगरपालिका आउन नमान्ने गरेको उहाँको भनाइ छ । वर्तमान अवस्थामा नगरपालिका करीब डेढ महिना प्रमुख प्रशासकीय अधिकृत बिहिन छ । हाल मन्त्रालयमा कुरा भइरहेकाले चाडै उप–सचिव आउने उहाँले बताउनुभयो ।
यस्तै, बृहत पम्पिङ खानेपानी आयोजनाको काम हाल धमाधम भइरहेको बताउनुभएको छ । ठेकेदारहरु वेपत्ता भएको अवस्थामा नगरपालिकाले ल्याएर काम गर्ने कागज गराएपछि काम भइरहेकाले अब छिट्टै खानेपानीको काम पुरा हुने उहाँको भनाइ छ । राजापानीस्थित सडकको ट्रयाक खोल्दा पुरिएको सिँचाई कुलो मर्मतका लागि अन्य निकायमा पनि कुरा गरिएकाले नगरपालिकाले तत्काल बजेट विनियोजन गर्दा डुब्लिकेशन हुने संभावना भएकाले केही समय पर्खिएको तर उक्त समस्या चाडै समधान गर्ने मेयर राईको भनाइ छ । जयराम–हलेसी सडकखण्ड मर्मतका लागि २ पटक म्याद सकिदा पनि निर्माण कम्पनीले काम नगरिरहेकाले सम्बन्धित कार्यलय र निर्माण कम्पनीलाई घचघच्याउने काम भइरहेको उहाँले बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, कार्यालयका प्रमख तथा प्रतिनिध लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका नगर सभापति चक्र कुमार राई, नेकपा एमालेका नगर अध्यक्ष डिल्ली चाम्लिङ, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिहरुले अब कृषीलाई अर्थसँग जोडेर नगरपालिकाले काम गर्नु पर्ने, उपभोक्ता समितिको अनुसार भन्दा पनि नगरपालिकाको नीति अनुसार योजनाहरुको काम हुने पर्ने लगायतका सुझाव दिनुभएको छ ।
गुणस्तरीय र पारदर्शिताका लागि हरेक योजना तथा कामको सार्वजनिक सुनुवाइ ११ वटै वडाहरुमा पनि गरिएको नगरपालिकाले जनाएको छ ।
