Saturday, July 27News That Matters

खोटाङमा सुँगुरको खोरजस्तो छाप्रोमा दृष्टि विहिन वृद्ध, दिसापिसाव पनि ओछ्यानमै

दर्दनाक अवस्थामा जीवन बिताइरहेका वृद्धलाई सम्हाल्दै वडाध्यक्ष तुलाराम राई, साथमा वृद्ध राई बस्ने छाप्रो

खोटाङ, फागुन ८ । खोटाङमा ८३ वर्षिय वृद्ध विगत साढे दुई वर्षयता छाप्रोमा जीवन बिताइरहेको पाइएको छ । केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका एकल तथा अशक्त वृद्ध जिरे राई ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा सामान्य छाप्रोमा जीवन बिताइरहेका छन् । जसको अगाडी पुग्दा मानिसको जीवन पनि यस्तो दर्दनाक अवस्थामा पुग्छर भन्ने लाग्नु स्वाभाबिक जस्तै छ ।

अढाई वर्षदेखि सुँगुरको खोरजस्तो छाप्रोमा राखिएका वृद्ध जसको दृष्टि गुमेको छ । तर दृष्टि हुनेहरुले पनि उनलाई अहिलेसम्म देखेका छैनन् । विगत आठ वर्षदेखि आँखाको दृष्टि गुमाएका राई तीन वर्षदेखि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका छन् । आफन्तकोमा बस्दै आएका राई दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि आफन्तले अलग्गै छाप्रो बनाएर राखिदिएका छन् ।

विवाह नगरी बसेका राई वृद्धावस्थामा पुगेसँगै हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थामा उनी भतिजो निरकुमार राईको रेखदेखमा बस्दैआएका छन् । तर, दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि वृद्धको अवस्था दर्दनाक छ । हाल उनलाई सुताउन र उठाउन समेत साहरा चाहिन्छ । दिसापिसाव ओछ्यानमै भएपछि सरसफाई अभावमा छाप्रो दुर्गन्धित बनेको छ । अढाई वर्षदेखि सुँगुरको खोरजस्तो छाप्रोमा राखिएका वृद्धलाई व्यवस्थित तरिकाले राख्न गाउँपालिकासँगको समन्वयमा टहरा बनाउन सुरु गरिएको बासपानीका वडाध्यक्ष तुलाराम राईले बताउनुभयो ।

स्थानीय सरकारले वृद्धकालागि निर्माण गर्दै गरेको टहरा

वडा कार्यालयले टहरा बनाएर गाउँपालिकामा बिलभपाई पेश गर्नेगरी काम सुरु गरेको उहाँको भनाइ छ । हाल वृद्धका लागि ढलान गरेर जस्ताको छानो हालेर काठको एक कोठे टहरा निर्माण भइरहेको छ । उनलाई आफन्तले अढाई वर्षदेखि छाप्रोमा राख्दैआएका छन् ।

एकल, अशक्त एवं दृष्टि विहिन वृद्धको दिनचर्या दर्दनाक भए पनि हालसम्म कुनै निकायको नजर नपुगेको पाइएको छ । स्थानीय सरकारले उनलाई बस्न टहरा निर्माण कार्य सुरु गरे पनि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका वृद्धको दैनिकी फेरिन मुस्किल देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *