
खोटाङ, फागुन ८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औँ जन्मजयन्ती अर्थात हीरक महोत्सव मनाएको छ । विद्यालयले चार दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएको हीरक महोत्सवमा वडा स्तरीय भलिबल प्रतियोगितादेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म रहेको थियो ।
प्रतिनिधि सभा सदस्य राम कुमार राई (पासाङ) ले बिहिबार उद्घाटन गर्नुभएको कार्यक्रमको आइतबार समापन प्रतिनिधि सभा सदस्य सरस्वती बजिमयले गर्नुभएको छ । हीरक महोत्सवमा आयोजना गरिएको गाउँपालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ डुम्रे धारापानीले जितेको छ । यस्तै वडा नम्बर १ कुभिण्डे दोस्रो भएको छ भने वडा नम्बर ५ दुवेकोल तेस्रो हुन सफल भएको छ । प्रथम, दोस्रो र तेस्रो समुहलाई क्रमस रु २५, २० र १० हजार नगदको साथमा शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो ।
यस्तै, कार्यक्रममा कुभिण्डे भित्र खुला लोकदोहोरी, आधारभुत स्तरीय हिज्जे, प्रावि स्तरीय एकल गायन, गाउँपालिका भित्रका अन्त विद्यालय हाजिरी जवाफ, खुला सामुहिक नृत्य प्रतियोगितासमेत सञ्चालन भएको अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रमको अन्तीम दिन आइतबार राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसमेत रहेको थियो । कार्यक्रममा उपस्थितलाई हाँस्यकलाकार सुलेमान संकर (इकु) ले हँसाएका थिए भने नेपाल सिङ्गिङ स्टारका विजेतासमेत रहेका गायक राजेश राईले नचाएका थिए । हाँस्यकलाकार इकु र गायक राजेशराईको प्रस्तुति हेर्न हजारौँ दर्शकहरुको उपस्थितिसमेत रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीशेर राईको अध्यक्षतामा सम्पन्न हीरक महोत्सवमा माननीय द्धोय राई र बजिमयसँगै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, वडाध्यक्षहरु ल्गायतको उपस्थिति रहेको थियो । ६० औँ जन्म जयन्ती मनाएको रत्न राज्य लक्ष्मी विद्यालयमा अहिले १० कक्षासम्म सञ्चालन भइरहेको छ । उक्त विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि वडाध्यक्ष राईको नेतृत्वमा अक्षयकोष स्थापनाका लागि रकम संकलन लगायतका कामहरु भइरहेको बताइएको छ ।
