Thursday, April 16News That Matters

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीको भिडन्त

रेफ्रीलाई खेल सामाग्री हस्तान्त्रण गर्दै गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई

खोटाङ, फागुन ७ । खोटाङको केपिलासगढी गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका केन्द्र तथा वडा नम्बर ४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता आईतबारबाट सुरु भएको हो ।

प्रतियोगिताको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । तीन दिने प्रतियोगितामा छात्राछात्रतर्फ १५ विद्यामा अर्थात ३० स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ । जसमा १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डी प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगिता सम्पन्न गरिने शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले ४० हजार, दोश्रो हुने विद्यालयले ३० हजार र तेश्रो हुने विद्यालयले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप १५÷१५ हजार र सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ । मार्च पासमा प्रथम हुने विद्यालयलाई ५ हजार र दोश्रो हुने विद्यालयलाई ३ हजार नगद पुरस्कार दिईने खनालले बताउनुभयो ।

जनप्रतिनिधि भर्सेस कर्मचारीको रोमाञ्चक भिडन्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका भित्रका पुरुष जनप्रतिनिधि र गाउँपालिकामा कार्यरत पुरुष कर्मचारीबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । १३ मा कोर्ड परिवर्तन गरेर २५ मा अर्था एक सेटमै सकिने गरी सुरु भएको प्रतियोगितामा रोमाञ्चक भिडन्त भएको छ ।

प्रतियोगितामा सुरुवातबाटै कर्मचारीलाई दबाबमा राखेर अघि बढेको जनप्रतिनिधिको टिम आफ्नो लयलाई कायम गर्न नसक्दा झिनो अन्तरले पराजित भएको छ । १५ नम्बरसम्म अगाडि रहेको जनप्रतिनिधिको टिम अन्तत कर्मचारीसँग २३–२५ ले खेल गुमाउन पुगेको हो ।

प्रतियोगिताको कर्मचारीको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की र जनप्रतिनिधिका तर्फबाट गाउँपालिका अध्यक्ष समिर राईले नेतृत्व गर्नुभएको थियो ।

मार्च पास गर्दै खेलाडीहरु