Friday, April 17News That Matters

केपिलासगढी : राष्ट्रपति रनिङ शिल्डमा पहिलो पृथ्वी मावि हुँदा, सुर्य मावि दोस्रो र सुक्रजित मावि तेस्रो


खोटाङ, फागुन ११ । खोटाङको केपिलासगढी गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिका भरीका आठ वटा माविको सहभागिता प्रतियोगितामामा सुर्य मावि सुङदेल दोस्रो भएको छ ।

१९ स्वर्ण, ८ रजत र ३ कास्य सहित प्रतियोगितामा पहिलो बनेको पृथ्वी माविले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सुर्य मावि सुङदेल ५ स्वर्ण, ८ रजत र ६ कास्य ल्याएर दोश्रो भएको छ । सुक्रजित मावि खार्ताम्छाले ५ स्वर्ण, २ रजत र ३ कास्य ल्याएर तेश्रो भएको गाउँपालिकाले जनाएको छ ।

दोश्रो भएको सुर्य माविले ३० हजार र तेश्रो हुने सुक्रजित माविले २० हजारका साथमा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने, सहभागी अन्य पाँच विद्यालयले आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र पाएको शिक्षा संयोजक सुरेन्द्र खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार रेणुका मावि दिप्सुङले १ स्वर्ण, ५ रजत, ४ कास्य, थर्पुडाँडा मावि सप्तेश्वरले १ रजत, १ कास्य, जालपा मावि बाक्सिलाले १ कास्य, राष्ट्रिय मावि बासपानीले २ रजत, ५ कास्य र कुहुडाँडा मावि फेदीले ४ रजत, ५ कास्य जितेका थिए ।

उद्घाटनमा उत्कृष्ट मार्चपास गर्नेमा जालपा मावि बाक्सिला पहिलो भएर नगद ५ हजार र दोश्रो भएको राष्ट्रिय मावि बासपानीले नगद ३ हजार पुरस्कार पाएका छन् ।

विजेता विद्यालयलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, सामाजिक विकास समिति संयोजक एवंम् फेदीका वडाध्यक्ष निरकुमार राई, बाक्सिलाका वडाध्यक्ष खड्ग बहादुर तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले पुरस्कार वितरण गर्नुभएको छ ।

आईतबारदेखि केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा भएको प्रतियोगिता आज(बिहीबार) समापन भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डीको एक÷एक स्वर्णसहित ३० स्वर्ण पदकका लागि प्रतियोगिता गराईएको थियो ।