Friday, April 17News That Matters

खोटाङमा कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट पहिलो, दिप्रुङ चुइचुम्मा दोस्रो

खोटाङ, फागुन ११ । कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो बनेको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार नगरपालिका ६६.७८ अंक प्राप्त गरेर पहिलो बनेको हो ।

यस्तै, आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक प्राप्त गरेको छ । दिरुमनपा पछि दोस्रो स्थानमा दिप्रुङ चुइचुम्मा रहेको आयोगले जनाएको छ । जन्तेढुंगा गाउँपालिकाले भने जिल्लाको सबैभन्दा कमजोर देखिएको छ । प्रकाशित कार्यसम्पादन सूचक मूल्यांकन प्रतिबेदन अनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ ।

अन्य स्थानीय तहले क्रमस ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी गाउँपालिकाले ४९.०६ अंक, केपिलासगढी गाउँपालिकले ४७.५९ अंक र बराहपोखरी गाउँपालिकाले ४६.४८ अंक पाएको आयोगको प्रतिबेदनमा उल्लेख छ ।

असार १० गतेभित्र राजस्व र व्यायको अनुमान गाउँसभा\नगरसभामा गरे नगरेको, असार मसान्तभित्र राजस्व र व्यायको अनुमान पारित गरे नगरेको, आर्थिक वर्ष २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोग गरे नगरेको, आवधिक योजना तर्जुमा गरे नगरेको लगायतका सुचकको आधारमा कार्यसम्पादन सुचक मूल्यांकन गरिएको हो । यस्तै, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेको, आर्थिक वर्ष २०८०\०८१ को आयव्याय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस सान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, आर्थिक वर्ष २०७९\०८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी ततसम्वन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, चार पटक गर्भ जाँच गर्ने महिलाको संख्या लगायतको आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।