Saturday, June 13News That Matters

दिप्रुङ चुईचुम्मा गाउँपालिका विरुद्ध नेपाल शिक्षक संघ आन्दोलनमा उत्रियो

गाउँपालिकाको कार्यालय अगाडि धर्ना दिदै आन्दोलनरत शिक्षकहरु

खोटाङ, फागुन ११ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिएको छ । शिक्षिकालाई राजनीतिक आस्थाको आधारमा अपायक पर्ने ठाउँमा सरुवा गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षिक विमला पौडेललाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला माबि ओख्रेमा सरुवा गरिएको थियो । राजनीतिक आस्थाको सरुवा गरिएको भन्दै शिक्षक संघले संघर्ष समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगको सहकार्यमा चरणवद्ध आन्दोलन घोषणासमेत गरेका छन् ।

विरोधमा उत्रिएको शिक्षक संगठनले फागुन ११ र १२ गते गाउँपालिकाको कार्यालय अगाडि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना दिने जनाएको छ । सोही अनुसार बिहिबार संगठनमा आबद्ध शिक्षकहरु धर्नामा बसेका छन् । फागुन १३ गतेदेखि १५ गतेसम्म रिले अनसन गर्ने, फागुन १६ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने र धर्नालाई निरन्तरता दिने घोषणा गरेको छ । संघले फागुन ७ गतेभित्र शिक्षिका सरुवा गर्ने निर्णय बदर नभए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

शिक्षिका पौडेललाई यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गर्दै गत फागुन ४ गते बुझाइएको दुई बुँदे ज्ञापन–पत्रको बेवास्ता गरिएको भन्दै असन्तुष्ट नेपाल शिक्षक संघले आन्दोलनमा उत्रिएको जनाएको छ ।

गाउँपालिकाको मौजुदा शिक्षा ऐन विपरित वैचारिक आस्था र प्रतिशोधका आधारमा घर अपायक पर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको नेपाल शिक्षक संघका दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पवन राईले बताउनुभयो । गाउँपालिकाको शिक्षा ऐनमा ‘अपांगता भएका शिक्षक शिक्षिका र महिलालाई पायक पर्ने स्थानमा सरुवा गरिने’ व्यवस्था विपरित शिक्षिकाको सरुवा भएको संघले जनाएको छ । पौडेल २०६२ सालदेखि राम्चे निकेतन माविमा कार्यरत हुनुहुन्छ । गाउँपालिकाबाट माघ २२ गते सरुवाको पत्र प्राप्त भए पनि पौडेलले सितला माबि ओख्रेमा हाजिर हुन अस्वीकार गर्दै आउनुभएको छ ।