Friday, April 17News That Matters

खोटाङ : सुनकोसीमा सडिसकेको शव फेला, एक युवा सुतेकै ठाउँमा मृत भेटिए

फाइल तस्विर

खोटाङ, १५ फागुन । खोटाङस्थित सुनकोसी किनारमा शव फेला परेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो । शवलाई प्रहरीको मुचुल्का उठाएर सदगद गरिएको उहाँको भनाइ छ ।

शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ । ओखलढुंगा, सिन्धुली, काभ्र्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ ।

यसैबीच, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २७ वर्षीय मनबहादुर तामाङ सुतेकै ठाउँमा मृत फेला परेका छन् । आफन्तको जन्ती गएका तामाङ सुतेकै ठाउँमा मृत फेला परेको डिएसपी मुकारुङले जानकारी दिनुभयो ।