Friday, April 17News That Matters

किराँती संस्कार अनुसार च्यास्मिटार वडा कार्यालय भवन शिलान्यास


खोटाङ, चैत २७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय भवन किराँती संस्कार अनुसार शिलान्यास गरिएको छ । किराँती संस्कार अनुसार सोमबार नछुङमार्फत मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको शिलान्यास गर्नुभएको वडाध्यक्ष भुपाल सिं राईले जानकारी दिनुभयो ।

नगरपालिकाको चालु आर्थीक वर्ष २०७९/०८० को बजेटबाट ४ वटा वडा कार्यालयका भवनहरु निर्माण हुँदैछन् । १ करोड ९ लाख ७९ हजारमा वडा नम्बर १ बाहुनीडाँडा, २ डिकुवा र ३ च्यास्मिटारको भवन निर्माणको जिम्मा ओजास निर्माण सेवा ललितपुरले लिएको छ । ३ वटै वडाको १ तले आरसिसि भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।

यस्तै, वडा नम्बर ७ महादेवस्थानको २ तले आरसिसि भवन निर्माणका लागि ५४ लाख ९८ हजारमा ब्रोदर्स युनाइटेट कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख विजय विश्वकर्माले बताउनुभयो । नगरपालिकाको बजेटबाट निर्माण हुन लागेका वडा कार्यालयका भवनहरु यहि आर्थीक वर्ष अर्थात असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता रहेको उहाँको भनाइ छ ।