Friday, April 17News That Matters

रावा बेसीका लिचीमा देखा परेका किरा नियन्त्रण गर्न कृषकलाई स्प्रेयर र विषादी प्रदान


खोटाङ, चैत २७ । कृषकको दरिलो आम्दानीको स्रोत रहेको लिचीमा विभिन्न प्रकारका किराको प्रकोप देखिन थाले पछि रावा बेसी गाउँपालिका त्यसको नियन्त्रणमा जुटेको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई प्रवद्र्धन गरिरहेको पालिकाले देखा परेका किरा नियन्त्रणका लागि कृषकलाई स्प्रेयर र विषादी प्रदान गरेको हो ।

चैत ७ गते बाली संरक्षण प्रयोकशाला विराटनगर, कृषि ज्ञानकेन्द्र खोटाङ, रावा बेसी गाउँपालिका लगायतको विज्ञ टोलीको अनुगमनले लिचीमा माइट, बोरर, पतेरो जस्ता किराको प्रकोप रहेको समस्या पहिचान गरेको थियो । उक्त किराको नियन्त्रणका लागि सोमबार कृषकलाई ४ थान पावर स्प्रेयर सहितको सेट, ६ सय बोतल विषादी, ५० बोतल सुक्ष्मखाद्य तत्व लगायतको सामाग्री ४ वटा कृषक समुहला्ई प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो । प्रदान गरिएको सामाग्रीले किरा नियन्त्रण गर्न फिल्डमै गएर कृषकलाई प्रशिक्षणसमेत गरिएको उहाँको भनाइ छ ।

किरा नियन्त्रणका लागि पावर स्प्रेयर लिची कृषकहरु सबैले प्रयोग गर्न सक्ने छन् । लिची, एभोकार्डो, कागती, किवी लगायतको बेर्ना उत्पादनकालागि श्रोत केन्द्र स्थापना गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष १० लाख बिनियोजन गरेको छ । वडा कार्यालय नजिकै फलफुलको नर्सरी श्रोत केन्द्र स्थापनाको काम अघि बढेको गाउँपालिकाले जनाएको छ ।

लिचीको बेर्ना उत्पादनमा प्रयोग गर्नका लागि स्वस्थ र गुणस्तरिय दाना फल्ने २० बोटलाई माउबोटका रुपमा छानेर गाउँपालिकाले ट्याग लगाइसकेको छ । करिब अढाइ सय वर्ष अघिदेखि व्यवसायीक रुपमा लिची उत्पादन हुँदैआएको कुभिन्डेमा लिचीको आफै गुणस्तरिय बेर्ना उत्पादन गर्ने र बेर्ना खरिदका नाममा बाहिरिने रकमलाई गाउँमै रोक्ने लक्ष्यका साथ माउबोट छानिएको कृषि शाखा संयोजक राईले बताउनुभयो ।

कुभिन्डेमा लिचीका ठूलाठूला करिब तीन–चार सय बोट छन् । वडा समिति, कृषि प्राविधिक, अगुवा तथा अनुभवी किसानसँगको छलफलबाट १३ किसानको बगानका २० बोटलाई माउबोट छानिएको हो । लिचीको माउबोट छनौटसँगै १३ जना किसानलाई लिचीको दुई हजार बोट कलमी बेर्ना उत्पादनको जिम्मेवारी दिइएको छ । सोमबार कृषकलाई प्रदान गरिएको सामाग्रीको प्रयोगले रोग किरा मुक्त विरुवा उत्पादन हुनेमा गाउँपालिका विश्वस्त छ ।

लिची बिक्रीबाट लाखौं भित्रिने कुभिन्डेमा वर्षेनी अन्यत्रबाट लिचीको बेर्ना भित्रिने गरेको छ । बाहिरबाट खरिद गरेर ल्याइएका कतिपय लिचीको बेर्नाबाट अपेक्षित फल उत्पादन नहुँदा किसान ठगिएकाले गाउँमै कलमी बेर्ना उत्पादनको तयारी गरिएको संयोजक राईले सुनाउनुभयो ।

पोखरेल थरका स्थानीयले भारतको दरभंगाबाट लिचीका बिरुवा ल्याएर रोपेपछि कुभिन्डेमा लिची खेती सुरु भएको हो । हाल रावाबेँसी गाउँपालिका–२ खार्पा र रावाबेँसी गाउँपालिका–६ हौंचुरमा पनि व्यवसायीक रुपमा लिची खेती भइरहेको छ । कुभिन्डे, खार्पा र हौंचुरका अधिकांश घरमा ठूला ठूला लिचीको बोट देखिन्छन् ।